हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित कृष्ण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तुलसी थापाको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको छ । तुलसी थापाको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न परिवारले सहयोग गरेको हो । तुलसी थापाकी बहिनी बेली थापाले सोमबार विद्यालयलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
अक्षयकोषबाट प्राप्त हुने आम्दानीबाट एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण पौडेलले जानकारी दिनुभयो । यो वर्ष कृष्ण माविबाट ३२ जनाले एसईई दिँदैछन् । एसईई दिने विद्यार्थीलाई विद्यालयले विद्यालयमै खाने व्यवस्थासहित पठनपाठन गरिरहेको छ ।
मंसिरदेखि आवासीय सुविधासहित पठनपाठन गराइरहेको विद्यालयलाई वडाले ४ लाख रुपैयाँ बजेट उपलब्ध गराएको सहायक प्रधानाध्यापक पौडेलले बताउनुभयो । १० कक्षासम्म पठनपाठन हुने कृष्ण माविमा ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।










