आम निर्वाचनको सरगर्मी विस्तारै बढ्दो छ । मकवानपुरमा पनि चुनावी रौनकता विस्तारै तात्दै छ । यसपालि कसले बाजी मार्छ सबैका आ–आफ्नो आँकलन र विश्लेषण रहेको छ । मकवानपुर संघीय क्षेत्र नम्बर १ मा कसले विजय हात पार्ला अहिले नै भन्न अलि हतार होला । गत निर्वाचनमा राप्रपाका नेता दीपक बहादुर सिंह विजयी भएको यो क्षेत्रमा यसपालि राप्रपा, एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी जस्ता पुराना दल र नयाँ भनिने रास्वपा, उज्यालो नेपाल पार्टी, नेकपा माओवादी लगायतका २३ दलहरु प्रतिस्पर्धा गर्दैछन् । झट्ट हेर्दा ठूला भनिने दलहरुको वर्चस्व जस्तो देखिए तापनि यसपालि निर्वाचनको मत नयाँप्रति नै आकर्षण हो कि जस्तो देखिन्छ । अझ देश त घण्टिमय भएको छ, मकवानपुरमा पनि घण्टिको नबुझिँदो रूझान देखिन्छ । मकवानपुर १ संसदीय क्षेत्रमा बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका १–४ वटा वडाहरु र हेटौंडा उपमहानगरपालिका २, ४–१० र १२ देखि १८ रहेका छन् ।

जम्मा ४० वडा रहेको यो संसदीय क्षेत्रमा लामो समय कम्युनिष्टले जितेपनि पछिल्लो समय एकपटक कांग्रेस र राप्रपाले जित्न सफल भएको देखिन्छ । भाद्र २३/२४को जेन जी आन्दोलनपछि मूलुकको राजनीतिक डायनामिक्स फेरिएको छ । जेन जी आन्दोलनको मर्म र भावना बोक्ने राजनीतिक दलप्रति जनचाहना बढेको देखिन्छ । यसबीच कांग्रेसले पनि आफूलाई विशेष महाधिवेशन मार्फत नयाँ राजनीतिक दल भएको घोषणासहित अहिले निर्वाचनमा सरिक छ । मकवानपुरमा कांग्रेस गत निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रह्यो । दीपक सिंहले २७ हजार ८१६ मत ल्याएर जितेका थिए भने डीना उपाध्यायले २५ हजार ४२३ प्राप्त गरेकी थिइन् । यसपालि एमाले, नेपानी कम्यूनिष्ट पार्टी र नयाँ भनिने दलहरू पनि कस्सिएर लागेका छन् । मुलुकको राष्ट्रिय राजनीतिक मुद्दा, राष्ट्रिय संकल्प र प्रतिवद्धताहरुले पनि निर्वाचन प्रभावित हुन्छ ।

जेन जी आन्दोलन, ७६ जना विद्यार्थी र युवाहरूको सहादतले निम्त्याएको निर्वाचनले परम्परागत दल प्रतिको आकर्षण कम देखिन्छ यद्यपि नेतृत्व, स्थानीय मुद्दा स्थानीय विकास, रोजगारी, पूर्वाधार, सुरक्षा र सामाजिक मुद्दा पनि मतदाताको निर्णयमा प्रभाव पार्ने विषय हुन् । साढे दुई वर्ष सांसद रहेका दीपक बहादुर सिंह पूर्वाधार विकास समितिको सभापति पनि थिए । यिनले पूर्वाधारको क्षेत्रमा काम गरेको दावी गरेका छन् । गत निर्वाचनमा गठबन्धन उम्मेदवार र कमल थापालाई पराजित गरेका सिंह राष्ट्रिय राजनीतिमा चर्चित रहेका पात्र हुन् । आफ्नो कार्यकालमा सांसद सिंहले आफ्नो पारिश्रामिक आँखा अस्पताल (तिलगंगा) लाई सहयोग गरेका थिए । जुङ्गे बुढा नामले चर्चित सिंह जुङ्गा रोज्ने कि पेटिकोट भन्ने अभिव्यक्तिले बिबादमा तानिएका थिए, पछि सांसद सिंहको सचिवालयले उक्त भनाईको खण्डन ग¥यो ।

यसपालि नेपाली कम्युनिष्ट पार्टीले पढे–लेखेका ईनर्जेटिक युवा विजय गौतमलाई उठाएको छ । गाउँपालिकाहरूमा राम्रो प्रभाव भएको गौतम सक्षम क्षमतावान युवा हुन् । सहरी क्षेत्रमा अलि परिचित नभएको कारण यिनले धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । लामो समय आफ्नो वर्चस्व कायम राखेको एमालेले गत निर्वाचनमा यो क्षेत्र गुमाउनु पुग्यो । तात्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई यो क्षेत्रमा एमालेले उम्मेदवार बनायो । फलतः एमाले पराजित भयो । यो निर्वाचनमा एमालेले पुराना इमान्दार सादगी नेता रामेश्वर रानालाई उम्मेदवार बनाएको छ । एमाले यो क्षेत्रमा संगठनात्मकरूपमा बलियो पार्टी हो । तर बजारक्षेत्रमा उसको जनमत खस्किएको अवस्था छ । केपि ओलीको पार्टीलाई भोट हालिन्न भन्ने जनमत बाक्लै भेटिन्छ ।

गत निर्वाचनमा डिना उपाध्याय आफ्नै पार्टी भित्रको अन्तर्घातले झिनो मतले पछाडि परिन् । तर यो चुनावमा कांग्रेस भित्र बेजोडको एकता देखिएको छ । एक हुँदा यो क्षेत्र तुलानात्मक रुपमा कांग्रेसको अवस्था सवल देखिन्छ । अन्य राजनीति दलहरू पनि उत्साहका साथ मैदानमा छन् । चुपचाप घण्टी छाप भन्ने नारा र बालेनको क्रेजले काम गर्‍यो भने अप्रत्यासितरूपमा मकवानपुरमा घण्टी नबज्ला भन्न सकिन्न । अब कि बार बालेन सरकार भन्ने नारा जोडदारले उठ्यो भने मकवानपुर कसरी प्रभावित नभई रहला र ! गत निर्वाचनको समानुपातिक मत प्रत्यक्षमा खसाल्न सके पनि घण्टी बज्छ ।

अन्य नयाँ दल पनि बडो सक्रियता साथ लागेका छन् । प्रलोपा, उज्यालो नेपाल पार्टी, माओवादिले पनि युवा उम्मेदवार उठाएको छ । पुस्तान्तरणको प्रक्रिया क्रमशः निर्वाचनमा देखियो । गगन थापादेखि नयाँ भनिने दलहरूले नवयुवाहरूलाई प्राथमिकता दिनु भनेको जेन जी आन्दोलनको मर्मलाई आत्मसात गर्नु हो ।

विस्तारै चुनावी माहौल तातिँदै छ । उम्मेदवार घरदैलोमा पुग्दैछन् । यसपालि दलहरूले आफ्नो घोषणापत्र जारी गर्न भ्याएका छैनन् । फागुन २१ आउन अझै समय छ । रात रहे अग्राठ पलाउँछ । एमाले, कांग्रेसको शेरबहादुर समूह अन्य निवर्तमान सांसदहरु अझै पनि संसद पूनस्र्थापनाको मुद्दा व्यूँत्याउने प्रयासमा छन् । केहि समयअघि केपी ओलीले त न्यायालयलाई यो विषय टुङ्याउन धम्किपूर्ण शैलीमा चूनौति दिइसकेका छन् । देश चुनावमा गैसकेको अवस्था नयाँ जनादेशको बाटो नै उत्तम विकल्प हो । देशले ठूलो घनराशि खर्च गरिसकेको अवस्थामा अब अदालतले पनि निर्वाचनलाई बल पुग्ने बाटो खोलिदिनु पर्छ । उम्मेदवार जनताका बीचमा पुगिसकेको सन्दर्भमा जनताको मन जितेर अघि बढनु जरूरी छ ।

यसपालिको मकवानपुर क्षेत्र नम्बर १ को निर्वाचन अत्यन्तै रोचक छ । गत निर्वाचनमा कांग्रेस, माओवादी, समाजवादी सबैको गठबन्धनको उम्मेदवार कांग्रेसको डिना उपाध्याय थिईन् । एमालेले तात्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको थियो । बिना गठबन्धन, बिना संगठन दीपक बहादुर सिंह विजयी भए । सिंह चुनाव लड्दा आवश्यक रणनीति बनाउन सक्ने कुशल खेलाडी हुन् । पार्टी भित्रको असन्तुष्टीलाई आफू पट्टि आकर्षित गर्न सफल सिंह चुनावको जोड–घटाउ राम्रो बुझेको व्यक्ति हुनुहुन्छ । त्यस्तै इन्द्रबहादुर बानियाँ अर्को चतुर खेलाडी हुन् । यिनले पनि रातारात परिणाम उल्टाउने क्षमता राख्छन् । यसपालि यिनी डिनाको पक्षमा दृढतापूर्वक उभिएका छन् । यसपालिको रोचक दृश्य भनेको सबै एक्ला–एक्लै निवार्चन लडेका छन् । यो चुनावमा कसको हैसियत कस्तो छ ? नयाँ भोटरहरूको मनस्थिति के छ ? सिङ्गो व्यवस्था, नेताप्रति बढ्दो निराशाबाट सिर्जित परिस्थितिमा भोट कता जान्छ ? आँकलन गर्न हम्मे–हम्मे नै छ । मकवानपुर १ राप्रपा, एमाले, कांग्रेस, नेपाली कम्यूनिष्ट पार्टी, रास्वपा बीच नै तीव्र प्रतिस्पर्धा देखिन्छ । थोरै भोटले यसपालिको चुनाव हार–जित हुने देखिन्छ । अझ समय छ यसबीच नयाँ घटनाहरू विकसित हुन सक्छ । सुरक्षा चुनौति कायम नै छ । हार्ने निर्वाचनमा सहभागी नहुने त्यस्का लागि निउ खोज्ने काम प्रारम्भ भैसकेको छ । चुनाव भैहाल्यो भने पनि नयाँलाई हराउन पुरानाहरूको बीचमा हुने अघोषित एकतालाई नकार्न सकिँदैन ।

तर जनता सचेत छन् । यसपालि राम्रा मानिसको छनौट हुनेछ । विवेकको प्रयोग हुनेछ । देश संकटमा छ, संविधान मूर्छित छ । देशलाई लयमा फर्काउन पनि नीति र थीति बसाल्न सकेनौं भने देश अतिवादको चपेटा पर्छ । त्यसपछि हामीसँग पश्चाताप गर्ने भन्दा अर्को विकल्प रहँदैन । देशलाई शिरमा राखेर सोचौं । राम्रा उम्मेदवार जिताऔं । अस्तू ।