हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा विद्यार्थीले कला चौतारीमा आफ्ना कला प्रस्तुत गरेका छन् । विद्यालयको पिपल चौतारामा सुन्दर सज्जासहित तयार पारिएको कला चौतारीमा विद्यार्थीले कविता, गीत, कथा, आलेख प्रस्तुत गरेका छन् । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित विविध कार्यक्रमअन्तर्गत बिहीबार कला चौतारीको आयोजना गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रनाथ पोखरेलको अध्यक्षता तथा वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभिभावक, वडाभित्र बसोबास गर्ने साहित्यकार, जनप्रतिनिधिको सहभागिता रहेको थियो । विद्यालयले ‘बालज्योति कला चौतारी’लाई नियमित अभ्यासमा लैजाने बताएको छ । विद्यालयका प्रधानाध्यापक भरत अर्यालले विद्यार्थीको क्षमता प्रष्फुटनका लागि बालज्योति कला चौतारी कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कला चौतारीमा आफ्ना कला प्रस्तुत गर्ने क्रममा विद्यार्थीहरु मौलिक पोशाकमा सहभागी भएका थिए । थारु समुदायका विद्यार्थीले थारु भाषामै गीत गाएका थिए । विद्यार्थीले वाद्यवादन कला पनि प्रस्तुत गरेका थिए । कला चौतारी कार्यक्रमकै बीच विद्यार्थीले तयार पारेको द्वैमासिक भित्ते पत्रिकाको विमोचन समेत गरिएको थियो । विद्यार्थीको रचनात्मक क्षमता विकास गर्न भित्ते पत्रिका प्रकाशनको सुरुवात गरिएको विद्यालयले जनाएको छ ।
बालज्योति कथा चौतारी कार्यक्रममै विद्यार्थीले स्थलगत चित्रकलाको अभ्यास समेत गरेका छन् । कथा चौतारीमा ५ कक्षादेखि १० कक्षासम्मका १८ जना विद्यार्थीले आफ्ना रचना प्रस्ततु गरेका थिए । स्वर्ण जयन्तीको सुरुवातमा गत सोमबार प्रभातफेरीसहित विशेष समारोहको आयोजना गरिएको थियो । मंगलबार साइकल ¥यालीको आयोजना गरेको विद्यालयले बुधबार धार्मिक एवम् सार्वजनिक स्थलको सरसफाई गरिएको थियो । विद्यालयले माघ २८ गते स्वर्ण महोत्सवको समापन समारोह हुनेछ । १० कक्षासम्म पठनपाठन हुने बालज्योति माविमा १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।











