सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोक र चितवन जिल्लामा शुक्रबार सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित वडा कार्यालय नजिकै खुन्द्रुकमा ब्रेक फेल भई ट्रिपर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा सुकुटेबाट गोल्छेतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख १३२१ नम्बरको बालुवा लोड ट्रिपर उकालो सडकखण्डमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ट्रिपर चालक सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६, पेड्कुका ४० वर्षीय सिताराम भण्डारी घाइते भएका थिए । घाइते भण्डारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जलविरे लगिएको थियो । उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६, छाहारीचोक नजिकै ट्रक र मोटरसाइकल एक–आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजेर ३० मिनेटको समयमा ना ६ ख ६३१६ नम्बरको मिनी ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना ३१ प २११४ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगर गम्भीर घाइते भएका थिए । घाइते मगरलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा शनिबार बिहान १ बजेर ५१ मिनेटको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक भरतपुर महानगरपालिका–१, रामनगरका ५२ वर्षीय अम्मर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।