उपाधि विजेता बुद्ध माविका विद्यार्थी खुसियाली मनाउँदै ।

हेटौँडा : बकैया गाउँपालिकमा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध माध्यमिक विद्यालयले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा १५ वटा स्वर्ण पदकसहित बुद्ध मावि प्रथम भएको हो ।

यस्तै प्रतियोगितामा १४ वटा स्वर्ण पदकसहित जनक माध्यमिक विद्यालय द्वितीय र कर्मप्राप्ति माध्यमिक विद्यालय ६ स्वर्ण पदकसहित तृतीय भएको छ । प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा छात्रातर्फ बुद्ध माध्यमिक विद्यालयकी दुर्गा प्रजा र छात्रतर्फ जनक माध्यमिक विद्यालयका सम्भव माझी उत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबल, कबड्डी, कराँते र एथ्लेटिक्स विधाका प्रतियोगिताहरु भएको थियो । प्रतियोगिता बकैया–५, कर्मचुलीस्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा भएको थियो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा ११ वटा विद्यालयका करिब २ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको बकैया एथ्लेटिक्स संघका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो । प्रतियोगिताको समापन समारोहमा बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङ, कर्मप्राप्ति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल वाईबा र प्रधानाध्यापक रुद्रप्रसाद दहाल लगायतको उपस्थिति रहेको थियो ।