हेटौँडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरद्वारा आयोजित अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ शिशु सदन विद्यालय विजयी भएको छ । मंगलबार भएको फाइनल खेलमा ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालयलाई ४३ रनले हराउँदै सिद्धार्थ शिशु सदनले उपाधि जितेको हो ।
सुरुमा ब्याटिङ गरेका सिद्धार्थ शिशु सदनले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर ८८ रन बनाएको थियो । सिद्धार्थका लागि यान चौधरीले सर्वाधिक अविजीत २१ रन बनाए । लक्ष्य पछ्याएको जीएस निकेतनले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ४५ रनमात्रै बनाउन सक्यो । जीएसका लागि अंश यादवले सर्वाधिक २० रन बनाए भन्ने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जीएस निकेतनले सेमिफाइनलमा ब्रह्मदिक एकेडेमीलाई ९ विकेटले र सिद्धार्थ शिशु सदनले तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयलाई ९ विकेटले नै हराएर फाइनलमा पुगेको थियो । प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा तुलसी मेहर मेमोरियल माविले ब्रह्मदिक एकेडेमीलाई ९ विकेटले हराएको छ । सुरुमा ब्याटिङ गरेको ब्रह्मदिकले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ७० रन बनाएको थियो । लक्ष्य पछ्याएको तुलसी मेहरले ५ दशमलब ५ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेटायो । तुलसी मेहरका लागि आयुष दुवेदीले एक्लै ५१ रन बनाए ।
प्याब्सनको वार्षिक खेलकुद सप्ताह अन्तर्गत बिहीबारदेखि प्रतियोगिता आयोजना गरिएको थियो । प्याब्सनले बिहीबारदेखि शनिबारसम्म ७ ‘ए’ साइड फुटबल प्रतियोगिता, छात्र र छात्रा भलिबल प्रतियोगितासमेत आयोजना गरेको थियो ।











