अफिम खेती फँडानी गर्दै प्रहरी ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा अवैध रूपमा गरिएको गाँजा तथा अफिम खेती फँडानी गरी नष्ट गरिएको छ ।

शुक्रबारदेखि आइतबारसम्म बागमती प्रदेश प्रहरी गण, हेटौँडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर लगायत मातहत प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मकवानपुरको उत्तरी भेगस्थित कैलाश गाउँपालिका अन्तर्गत वडा नम्बर १, २, ५, ६, ७ र ८ का विभिन्न स्थानहरूमा अवैध रूपमा गरिएको लागूऔषध खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार फँडानीका क्रममा २ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती तथा १२ बिगाहा क्षेत्रफलमा गरिएको अफिम खेती गरी १४ बिगाहा क्षेत्रफल बराबरको लागूऔषध खेती फँडानी गरी पूर्ण रूपमा नष्ट गरिएको जनाएको छ । लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले यस्ता अभियानहरूलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।