प्रहरीले बरामद गरेको गाँजा र नियन्त्रणमा लिएको कार ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेबाट लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार बिहान ४ बजेर ३० मिनेटको समयमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले कारको डिकी भित्र लुकाई ल्याएको १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित कारचालक भारत उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर तथा भारत उत्तर प्रदेशको मुजफ्फरनगर अम्बा बिहारका ४४ वर्षीया साबीरालाई पक्राउ गरेको छ । बरामद गरिएको लागूऔषधसहित तीनै जनालाई पक्राउ गरी लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।