हेटौँडा : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको कार्यकुशलताबाटै संघीयता सफल हुने बताउनुभयो । आइतबार बागमती प्रदेशसभाको आठौं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको आधारमै संघीय लोकतान्त्रिक प्रणालीको सफलता र प्रदेश सरकारको प्रभावकारिता देखिने बताउनुभएको हो ।
उहाँले प्रदेशसभा जनताको सार्वभौम अधिकारको प्रयोगस्थल, लोकतान्त्रिक अभ्यासको बलियो खम्बा र प्रदेश शासन व्यवस्थाको दिशानिर्देशक संस्था भएको बताउनुभयो । बागमती प्रदेशबासीले कानुन र औपचारिक बहसमात्र नभई परिणाममुखी र जनताले प्रत्यक्ष अनुभूत हुने सुशासनको अपेक्षा गरेको उल्लेख गर्नुभएको छ । उहाँले प्रदेशसभा वर्तमान पुस्ताप्रति मात्र नभई आउँदो पुस्ताप्रति पनि उत्तरदायी संस्था रहेको बताउँदै आजको निर्णयले भोलिको प्रदेशको स्वरुप, स्थायित्व, संस्कार र जनविश्वासको आधार तय गर्ने हुनाले प्रदेश र प्रदेशबासीका चासोका विषयले प्रदेशसभामा उचित स्थान पाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशसभामा उत्कृष्ट कार्य सम्पादन गर्ने ८ जना कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्रीहरु डोरमणि पौडेल तथा शालिकराम जमकट्टेल, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य, प्रदेशस्थित संवैधानिक निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरु तथा प्रदेशस्थित सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।










