हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, पिपलडाँडास्थित बाघभैरव आधारभूत विद्यालयको प्रधानाध्यापकमा सुरेन्द्र मुक्तान नियुक्त हुनुभएको छ । मुक्तान बिहीबारबाट प्रधानाध्यापकमा नियुक्त हुनुभएको हो ।
पुस २५ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठक, बकैया गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको सिफारिसमा मोक्तान प्रधानाध्यापक नियुक्त हुनुभएको हो । मुक्तान उक्त विद्यालयमा कार्यरत प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक हुनुहुन्छ । उहाँले विद्यालयको कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीलाई अंग्रेजी र कम्प्युटर विषय अध्यापन गराउनुहुन्छ ।
उहाँले अंग्रेजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । उहाँले विसं २०६७ सालदेखि बाघभैरव आधारभूत विद्यालयबाट नै शिक्षण पेशाको सुरुवात गर्नुभएको थियो । उहाँ २०७१ सालमा स्थायी शिक्षकमा नियुक्त भई कैलाश गाउँपालिकाको एक विद्यालयमा पुग्नुभएको थियो । त्यसपश्चात् उहाँले बकैया–६ स्थित जनस्थापित रत्न प्राथमिक विद्यालयमा चार वर्ष प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुभएको थियो भने त्यसपछि प्रभात माविमा साढे दुई वर्ष प्रधानाध्यापकको भूमिका निभाउनुभएको थियो ।
बाघभैरवमा मुक्तानले २०७८ सालदेखि पढाउँदै आउनुभएको थियो । यसअघि प्रधानाध्यापकमा रहनुभएकी सरिता माझीले समय अभावका कारण प्रधानाध्यापकको जिम्मेवारी छोड्नुभएको हो । उहाँले आगामी दिनमा पहिले अभिभावकमा शिक्षाबारे सचेतना जगाउने बताउनुभएको छ । तामाङ समुदायको बाहुल्यता रहेको विद्यालय शिक्षाको ठाउँमा ओझेल परेका कारण पहिला अभिभावकलाई विभिन्न भेला गोष्ठी सञ्चालन गरेर सचेत गराउने प्रधानाध्यापक मुक्तानले बताउनुभयो । त्यसपश्चात् शिक्षाको गुणस्तर सुधार गर्ने उहाँको भनाइ छ ।
विद्यालयलाई हाल छात्रावासको आवश्यकता रहेको छ । बकैया गाउँपालिकाको ११ नम्बर वडामा कक्षा ३ सम्म मात्रै अध्ययन हुने विद्यालय रहेको र त्यहाँका विद्यार्थी बाघभैरव आधारभूत विद्यालयमा आउन करिब ३ घण्टा लाग्ने भएकोले छात्रावासको आवश्यकता परेको प्रधानाध्यापक मुक्तान बताउनुहुन्छ । विद्यार्थीहरूलाई नियमित रूपमा आवतजावत गर्न विद्यालय बस पनि नभएकाले छात्राबासको आवश्यकता परेको उहाँको भनाई छ । उहाँका अनुसार ४ देखि ८ कक्षासम्मका विद्यार्थीहरूलाई छात्रावासको आवश्यकता रहेको छ । ११ नम्बर वडाबाट करिब ३६ जना विद्यार्थी पठनपाठनका लागि बाघभैरव आउने गरेका छन् । आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ३३४ जना विद्यार्थी अध्ययनरत छन् ।











