अभिभावक दिवसमा नृत्य गर्दै विद्यार्थीहरु ।

हेटौँडा : हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमीको अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । विद्यालय परिसरमै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बानियाँको अध्यक्षता तथा वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो ।

अभिभावक दिवसको अवसरमा विद्यार्थीले उद्घोषण, गायन, नृत्य, वाद्यवादन तथा नाटक कला प्रस्तुत गरेका थिए । साँस्कृतिक कार्यक्रमअन्तर्गत मौलिक भाषाका गीतमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका विद्यार्थीले विभिन्न भाषाभाषीका प्रतिनिधित्व गर्दै मातृभाषामा आफ्नो परिचय र मौलिककताका बारेमा संक्षिप्त प्रस्तुती समेत राखेका थिए । अभिभावक दिवसलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष सिग्देलले ४ नम्बर वडा शैक्षिक केन्द्रको रुपमा स्थापित भएको र थप विकास गर्नु जरुरी रहेको बताउनुभयो । विद्यालय तहको शिक्षामा वडाको पनि उल्लेख्य लगानी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामबाबु सापकोटाले २०७१ सालमा ३५० विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले ९ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । ब्रह्मदिक् एकेडेमीका विद्यार्थीले नगर र जिल्लास्तरीय प्रतिस्पर्धामा सहभागी भइरहँदा खाली हातन फर्कन नपरेको र विद्यार्थीले विद्यालयको गौरव बढाएको बताउनुभयो । कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले अभिभावक दिवसमा अभिभावकलाई सम्मान गर्नुका साथै विद्यालय शिक्षामा अभिभावकको भूमिका बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको अभिभावक दिवसमा अभिभावकले आफ्नो पेशा, व्यवसायको क्षेत्रमा छुट्टीको सुविधा पाउनु पर्ने र त्यस्तो छुट्टीमा विद्यालयमा पूर्णसमय सहभागी हुनुपर्ने बताउनुभयो । अभिभावक दिवसको अवसरमा विद्यालयले शिक्षक, कर्मचारी र अभिभावकलाई सम्मान गरेको छ ।