हेटौँडा : फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पदचाप नजिकिँदै गर्दा बागमती प्रदेशको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । विशेषगरी २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अप्रत्याशित नतिजा निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कारण बागमती प्रदेशमा पुराना र ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) तथा नेकपा माथि दबाब चुलिएको हो ।
बागमती प्रदेशलाई आफ्नो ‘उर्भर भूमि’ मानिरहेको रास्वपाले गत निर्वाचनमा ३३ मध्ये ७ प्रत्यक्ष सिट जितेको थियो भने समानुपातिकबाट ३ सांसद पाएको थियो । रास्वपाका कुल २२ सांसदमध्ये १० जनाले बागमतीकै प्रतिनिधित्व गरेका थिए । जसले बागमती प्रदेशलाई रास्वपाको बलियो उपस्थितिलाई पुष्टि गरेको देखिन्छ ।
युवा पुस्तामा चुलिएको आकर्षण, ‘जेनजी’ आन्दोलनको प्रभाव र काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन साहको लोकप्रियताका कारण रास्वपाले बागमतीका अधिकांश जिल्लामा आफ्नो पकड विस्तार गरिरहेको छ । भावी प्रधानमन्त्रीमा बालेन र पार्टी सभापति रवि लामिछानेको संगमलाई लिएर मतदातामा पनि केही उत्साह देखिन्छ । मतदाताको ‘परिवर्तन चाहने’ मनस्थितिले आगामी चुनावमा रास्वपालाई थप बल पुग्ने आँकलन गरिएको छ ।
गत निर्वाचनमा १३ सिट जितेर बागमतीमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसका लागि ‘अन्तरघात’ सबैभन्दा ठूलो शत्रु बनेको छ । आन्तरिक विवादका कारण निश्चित जित भएका क्षेत्रहरु समेत गुमाउनु परेको पीडा कांग्रेसमा अझै देखिन्छ । आगामी निर्वाचनमा कांग्रेसले विशेष महाधिवेशन मार्फत् नेतृत्व परिवर्तन गरेर सभापति बनेका गगन कुमार थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । युवा नेतृत्वबाट चुनावी मैदानमा होमिएको कांग्रेसमा आन्तरिक विवाद रहेपनि सतहमा भने देखिएको छैन । यद्यपी निर्वाचनको समयमा उक्त असन्तुष्टि देखिन सक्ने आंकलन स्वभाविक छ । कांग्रेसले भावी प्रधानमन्त्रीमा सभापति थापालाई औपचारिक रुपमा नै घोषणा गरेकाले युवा पुस्तामा त्यसको प्रभाव सकारात्मक नै छ । विचार, सिद्धान्त र स्पष्ट मार्गदर्शनका साथ कांग्रेस निर्वाचनमा होमिएकाले युवा पुस्ता सहित मतदातामा सकारात्मक छाप परेको देखिन्छ । यद्यपी जेनजी आन्दोलनमा सरकारमा रहेको भन्दै कांग्रेस माथि प्रश्न भने कायमै छ ।
यता, संगठनात्मक रूपमा बलियो मानिएको नेकपा (एमाले) का लागि बागमती प्रदेश निकै महँगो सावित भएको छ । काठमाडौंका १० मध्ये ९ सिट गुमाएको एमाले समग्रमा ४ सिटमा खुम्चिएको थियो । युवा पुस्तालाई अवसर नदिएको र पुस्तान्तरण नगरेको आरोपका बीच एमालेका लागि आगामी चुनाव झन् चुनौतीपूर्ण हुने देखिएको छ । विशेषगरी विद्यार्थीमाथि गोली प्रहारको आरोप र टिकट वितरणको असन्तुष्टिले एमालेलाई थप रक्षात्मक बनाएको छ ।
गत निर्वाचनमा ६ सिट जितेको तत्कालीन माओवादी केन्द्र (हाल विभिन्न पार्टीसँगको एकतापछि नेकपा) भित्र पनि ठूलो हलचल देखिएको छ । प्रभावशाली नेताहरु जनार्दन शर्मा र सुदन किरातीले पार्टी छाडेर ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) मार्फत चुनावी अभियान चलाउँदा नेकपाको मत काटिने निश्चित छ । त्यस्तै, कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ र विप्लव नेतृत्वको नेकपाले पनि नेकपाकै परम्परागत मतमा हस्तक्षेप गर्ने देखिएको छ । सिन्धुली–२ जस्ता क्षेत्रमा परेको बागी उम्मेदवारीले नेतृत्वप्रति कार्यकर्ताको असन्तुष्टि प्रष्ट पारेको छ ।
२२ सिट जित्छौं : नेता श्रेष्ठ
रास्वपाका केन्द्रीय सदस्य एवम् विघटित संसदका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आगामी निर्वाचनमा बागमती प्रदेशमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दावी गरे । उनले बागमती प्रदेशका कुल ३३ निर्वाचन क्षेत्रमध्ये रास्वपाले न्यूनतम २२ सिट जित्ने लक्ष्यका साथ तयारी अगाडि बढाएको बताउनुभयो ।
नेता श्रेष्ठले प्रदेश र केन्द्र दुवै कमिटी निर्वाचनको तयारीमा जुटेको र जनचाहना अनुसार रास्वपाले आफूलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने बताए । जनतामा देखिएको रास्वपाप्रतिको आकर्षण (क्रेज) लाई मतमा बदल्न पार्टीले ठोस रणनीति बनाइरहेको उनको भनाइ छ । संसद्मा रास्वपाले खेलेको भूमिकाले भ्रष्टाचार र बेथितिहरूलाई सतहमा ल्याउन सफल भएको उनको दावी छ । ‘बागमती प्रदेश कमिटीले ३३ मध्ये न्यूनतम २२ सिटको लक्ष्य लिएको छ । हामी स्पष्ट बहुमतको तयारीमा छौँ ।’ उनले भने, ‘हामीले संसद्मा शिष्ट र सुसंस्कृत तरिकाले बेथिति विरुद्ध र सुशासनको पक्षमा आवाज उठायौँ । पछिल्लो समय मानव तस्करी विरुद्ध रास्वपाले संसद्मा गरेको आन्दोलनले पनि जनतामा सकारात्मक सन्देश गएको छ ।’
निर्वाचनको तयारीका लागि रास्वपाले वैज्ञानिक पद्दति अपनाएको श्रेष्ठले बताए । उनका अनुसार पार्टीले विभिन्न निर्वाचन क्षेत्रलाई ‘ग्रिन, ओरेन्ज र रेड जोन’ मा वर्गीकरण गरी काम गरिरहेको छ । डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको कार्यदलले चुनावी घोषणापत्र र पार्टीले गर्ने कामको स्पष्ट खाका (रोडम्याप) तयार पारिरहेको उनले बताए । सहरी क्षेत्रमा रास्वपाको राम्रो प्रभाव देखिए पनि ग्रामीण भेगमा संगठन विस्तारमा केही चुनौती रहेको श्रेष्ठको भनाई छ ।










