हेटौँडा : हेटौँडा–१९, बस्तीपुरस्थित गुरुशिष्य पाठशाला माध्यमिक विद्यालय बागमती प्रदेशस्तरीय यु–१४ अन्तरविद्याल फुटबल प्रतियोगिताको सेमीफाइनलमा पराजित भएको छ । नुवाकोटमा जारी प्रतियोगितामा सोमबार सिन्धुलीको सिद्धार्थथली इङ्गलिस बोर्डिङ स्कूलसँग पराजित हुँदै गुरुशिष्य पराजित भएको हो ।
गुरुशिष्य पाठशाला १–० गोलअन्तरले पराजित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौलागाईंले जानकारी दिनुभयो । यसअघि शनिबार चितवनको नमुना माध्यमिक विद्यालयलाई २–१ गोलअन्तरले हराउँदै गुरुशिष्य सेमिफाइनलमा पुगेको थियो । बागमती प्रदेश फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा ८ वटा जिल्लाका विद्यालयको सहभागिता रहेको छ ।
गत वर्षको असोज महिनामा भारी वर्षाको कारणले गएको बाढी पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जना खेलाडीको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।











