हेटौँडा : नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाज मकवानपुरको अध्यक्षमा अधिवक्ता राजुप्रसाद गौतम चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न अधिवेशनबाट अधिवक्ता गौतम अध्यक्षमा चयन हुनुभएको हो ।
शनिबार सम्पन्न अधिवेशनबाट गौतमको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा अधिवक्ता राधाकृष्ण मैनाली, सचिवमा कानुन व्यवसायी तेजकुमारी थापा र कोषाध्यक्षमा गीता ओझा सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा निता मानन्धर, पम्फा पुरी, रमा चौलागाईं, हरेराम आचार्य र रचना मानन्धर चयन हुनुभएको छ ।
वार्षिक साधारणसभाको अवसरमा प्रजातान्त्रिक विचार समाज मकवानपुरले यो वर्ष विद्यावारिधी पूरा गर्नुभएको डा. घनश्याम घिमिरे, डा. जया कोइराला र बागमती प्रदेशका मुख्य न्यायाधीवक्ता अप्सरा बस्नेतलाई सम्मान गरेको छ । यसैगरी प्रजातन्त्र सेनानीमा रहेर योगदान पु¥याउनु भएका कृष्णप्रसाद न्यौपाने, लक्ष्मी श्रेष्ठ, वासुदेव श्रेष्ठ र केदार भट्टराई पनि साधारणसभाको अवसरमा सम्मानित हुनुभयो । जिल्ला कार्यसमितिले केन्द्रीय समितिको लागि जिल्लाबाट निवर्तमान अध्यक्ष देवचन्द्र मानन्धर, निवर्तमान सचिव लीलानाथ ढुंगेल र तेजकुमारी थापालाई सिफारिस गरेको छ ।
वार्षिक साधारणसभाको अवसरमा संस्थाले ‘लोकतन्त्रको भविष्यः युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रमबाट युवाहरुलाई सशक्त बनाउँदै अगामी दिनमा नेतृत्वमा लैजाने निष्कर्ष आएको निवर्तमान सचिव ढुंगेलले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपानेले वर्तमान समयमा स्व. वीपी कोइरालाको सदाचार धारण गर्ने एउटा बौद्धिक शक्ति आवश्यक भएको बताउनुभयो । उहाँले युवा शक्तिलाई युरेनियमको संज्ञा दिँदै ‘युवा शक्तिको सदुपयोग हुँदा देश विकास हुन सक्छ र दुरुपयोग हुँदा ध्वस्त हुन सक्छ’ भन्नुभयो ।
कार्यममा बोल्नुहुँदै नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य उमा दहालले नयाँ शक्तिले स्टन्टबाजी गरेर देश हत्याउन खोजिरहेको आरोप लगाउनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, विशिष्ट अतिथिहरु केन्द्रीय उपाध्यक्ष गोकर्ण अर्याल, जयराम लामिछाने, लक्ष्मी श्रेष्ठ र दामोदर खनालको उपस्थिति रहेको थियो ।










