कमाने इप्लानेटका खेलाडी व्याटिङ गर्दैै ।

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिगमा कमाने राइडर्सले पहिलो जित निकालेको छ । सोमबार कमाने राइडर्सले कमाने थर्ड आईलाई ९ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

सुरुमा व्याटिङ्ग गरेको कमाने थर्ड आई १४ ओभर २ बलमा ८६ रनमै अलआउट भएको थियो । थर्ड आईका विशेषविक्रम थापाले सर्वाधिक २६ रन बनाएका थिए भने प्रज्वल पोखरेलले १ विकेट लिएका थिए । ८७ रनको लक्ष्य पछ्याएको कमाने राइडर्सले ९ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य भेटाएको हो । कमाने राइडर्सका नवी आलमले ३५ र विष्णु राउतले अविजित ३२ रन बनाए भने बलिङतर्फ प्रविन घिमिरेले ३ र समीर चौलागाईले १ विकेट लिए । कमाने राइडर्सको जितमा नायक बनेका विष्णु राउत बलिङमा पनि २ विकेट लिएर म्यान अफ द म्याच बनेका छन् । यसअघि कमाने राइडर्स आईतबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा कमाने एक्सपर्ट भिजन–११ सँग ७१ रनले पराजित भएको थियो । कमाने थर्डआइको भने यो लगातार दोस्रो हार हो । यसअघि आइतबार नै भएको अर्को खेलमा कमाने लायन्ससँग ८ विकेटले पराजित भएको थियो ।

यस्तै, कमाने इप्लानेट ब्लास्टर्सले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको अर्को खेलमा कमाने रोयल्सलाई ५ विकेटले हराउँदै दोस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा सुरुमा व्याटिङ् गरेका कमाने रोयल्सले १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो । रोयल्सका लागि गौरव खड्काले सर्वाधिक ४५ रन बनाएका थिए । यसैगरी बल्लिङ्गमा विजय घलानले ३ विकेट लिँदा दिपसन चौलागाई र सरोज यादवले समान २/२ विकेट लिए ।

जवाफी व्याटिङ गरेको कमाने इप्लानेट ब्लास्टर्सले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । इप्लानेट ब्लास्टर्सका लागि विजय घलानले अविजीत ३४ रन बनाए भने भुवन थापाले ३ विकेट, प्रेम क्षेत्री र निश्चल रोक्काले समान १/१ विकेट लिए । विजय घलान प्लेयर अफ द म्याच घोषित भएका हुन् । कमाने रोयल्सको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा कमाने लायन्ससँग ८ विकेटले पराजित भएको थियो ।

हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।