हेटौँडाः चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हेटौँडा अस्पतालमा १ सय १२ जना २० वर्षमुनिका किशोरीहरु आमा बनेका छन् । अस्पतालको मातृशिशु शाखाबाट गत साउनदेखि पुस मसान्तसम्म १ हजार ६ सय ५६ जनाले प्रसुती सेवा लिएकोमा १ सय १२ जना २० वर्षभन्दा कम उमेरका किशोरीहरु आमा बनेका हुन् ।

नेपाल सरकारले मातृशिशु मृत्युदर घटाउने उद्देश्यले २० वर्षमुनिको विवाहलाई कानुनीरुपमा वर्जित गरिए पनि व्यवहार बालविवाह कायमै रहेको पाइन्छ । किशोरी आमा बन्ने यो दरले मकवानपुरका ग्रामीण भेग तथा हेटौँडा बजार क्षेत्रमै बसोबास गर्नेहरु पनि २० वर्षमुनि नै विवाह गरेर बच्चासमेत जन्माउने गरेको तथ्य उजागर गरेको छ ।

मकवानपुरको मनहरी, भीमफेदी, बागमती, बकैया गाउँपलिकालगायत हेटौँडा उपमहानगरपालिकाका केही वडाहरुबाट समेत किशोरी आमाहरु प्रसुति सेवा लिन आउने गरेको हेटौँडा अस्पतालकी मातृशिशु शाखाकी नर्सिङ संयोजक देवकी खतिवडाले जानकारी दिनुभयो । कहिलेकाँही २० वर्षमुनिका किशोरीहरु दोस्रो बच्चा जन्माउनसमेत आइपुग्ने गरेको उहाँले बताउनुभयो ।

२० वर्ष उमेर नपुगी आमा बन्दा आमा र शिशु दुबैको स्वास्थ्य जोखिममा रहने उहाँको भनाइ छ । आमाको प्रजनन अंग विकास भइनसकेकोले प्रसुती सेवासमेत जोखिममा हुनसक्ने, सानो उमेरमा गर्भवती हुँदा शिशु पूर्ण परिपक्व नभई जन्मने सम्भावना रहने र समय नपुगी जन्मेको शिशुलाई विभिन्न संक्रमणको समेत खतरा रहने चिकित्सकहरुले सञ्चारमाध्यमहरु मार्फत चेतावनी दिदै आइरहेका छन् ।

नेपालको कानुनले २० वर्ष उमेर पूरा नभई विवाह गर्नुलाई दण्डनीय अपराध माने पनि २० वर्ष भन्दा कम उमेरमा विवाह र सन्तान प्राप्त हुने क्रम रोकिएको छैन । कानुन उल्लंघन भइरहँदा र सरोकारवालाले यसको न्यूनीकरणमा ध्यान नदिँदा नवजात शिशुको जन्मदर्तामा समस्या हुने जोखिम रहन्छ । २० वर्षभन्दा कम उमेरका अभिभावकको नामबाट सन्तानको जन्मदर्ता हुन सक्दैन ।