हेटौँडाः मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा कमलादेवी माविकी सदिक्षा गुरुङ प्रथम भएकी छिन् । सोमबार पालिकाले सामाजिक सञ्जाल अवसर कि चुनौती विषयमा प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा सोही विद्यालयका अभिषेक सारु मगर द्वितीय र कालिका माविका कृष मोक्तान तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ९ जनाको सहभागिता रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, सामाजिक विकास संयोजक तथा वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको आतिथ्य रहेको थियो । प्रतियोगितामा शाखा प्रमुख जोशी, शिक्षक धनकुमारी जोशी र सीताराम श्रेष्ठ निर्णायक हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा व्यक्तित्व र नेतृत्वका साथै वाककला प्रस्तुतिकरणको विकास हुने बताउनुभएको छ । समय सान्दर्भिक विषयवस्तुले गर्दा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगको असरबारे ज्ञान बढ्ने बताउँदै यसको अवसर र चुनौती दुबै रहेको उहाँको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दो रहेको र मानव बेचविखन, दुव्र्यवहार, हिंसालगायतका कार्य भइरहेकोले त्यसतर्फ सबैको ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ ।