Home मुख्य समाचार राष्ट्रिय सभा सदस्य निर्वाचन : राप्रपा, हानेपा र समाजवादीका प्रदेश सभा सदस्यले...

राष्ट्रिय सभा सदस्य निर्वाचन : राप्रपा, हानेपा र समाजवादीका प्रदेश सभा सदस्यले मतदान गरेनन्

हेटौँडा : राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेश तर्फको २ सिटका लागि भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश सभा सदस्यले मतदान गरेनन् ।

प्रदेश सभामा कायम रहेको राप्रपाका १२ जना सदस्यले मतदानमा सहभागिता नजनाएका हुन् । जसमा उद्धव थापा, नुरज बज्राचार्य, राजु विष्ट, राजेन्द्र प्रजापति, डम्बर तामाङ, गिर बहादुर तामाङ, आशा लामा, कुमारी तामाङ, मोनिका श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवन कुमार पाठक र लक्ष्मी घिमिरेले मतदान गरेनन् ।

हाम्रो नेपाली पार्टीका २ जना प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले पनि राष्ट्रियसभा सदस्य पदमा मतदान गरेनन् भने एकीकृत समाजवादी (हाल नेकपा)की रमा आलेमगरले पनि मतदान गरिनन् । उनी उपचारको क्रममा भारतमा छिन् ।

यता स्थानीय तह तर्फको प्रमुख र उपप्मुख मतदाता रहेको निर्वाचनमा २२९ जनाले मतदान गरेका छन् । २३८ मतदाता मध्ये एकजना भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् भने ३ जनाले राजीनामा गरेकाले २३४ मतदाता कायम भएको थियो । जस मध्ये नेपाली कांग्रेसका २, राप्रपाका १ र नेकपाका २ जनाले मतदान गरेनन् ।

माओवादी केन्द्रबाट निर्वाचित दुधौली नगरपालिकाकाका प्रमुख दिनेश अधिकारी र बिगु गाउँपालिकाका अध्यक्ष नेकपाका संजीव ओलीले मतदान गरेनन् भने शंकरापुर नगरपालिकाका प्रमुख राप्रपाका रमेश नापित, हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कांग्रेसकी अप्सरा लम्साल, गोदावरी नगरपालिकाकी उपप्रमुख कांग्रेसकी मुना अधिकारीले मतदान गरेनन् ।

Exit mobile version