हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार बकैया–७ आँपखोलास्थित हात्तीचरण आधारभूत विद्यालयको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा मामदमारस्थित ज्ञानप्राप्त आधारभूत विद्यालय प्रथम हुन सफल भएको छ । त्यसैगरी तीनकन्या आधारभूत विद्यालय द्वितीय र पशुपति आधारभूत विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा ८ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता बनेका विद्यालयहरु पुरस्कार स्वरुप विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको बकैया एथ्लेटिक्स संघका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा हात्तीखोला युवा क्लबले आयोजक हात्तीचरण आधारभूत विद्यालयलाई ५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष मानबहादुर सिंह र विशिष्ट अतिथि इस्थर बेन्जामिन स्मृति संस्था मकवानपुरका प्रमुख बुद्धवीर लामाको उपस्थिति रहेको थियो ।











