हेटौँडा : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरका २ वटा क्षेत्रबाट मनोनयन दर्ता गरेका ४४ जनाको उम्मेदवारी कायम रहेको छ । निर्वाचन अधिकृतको कार्यालय मकवानपुका अनुसार दुवै क्षेत्रका उम्मेदवार मध्ये कसैले पनि मनोनयन फिर्ता नगरेकाले ४४ जनाको उम्मेदवारी कायम भएको हो ।

शुक्रबार बिहान १० देखि ३ बजेसम्म तोकिएको मनोनयन फिर्ताको अवधिमा कुनै पनि उम्मेदवारले निवेदन नदिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । मकवानपुरको २ क्षेत्रमा यस पटकको निर्वाचनमा पुस्तान्तरणको दृश्य देखाएको छ । पुराना र स्थापित दलदेखि नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुमा युवा र महिलाको प्रतिनिधित्व उल्लेखनीय देखिएको छ । आसन्न निर्वाचनमा २५ देखि ४० वर्ष उमेर समूहका करिब १५ जना युवाहरु चुनावी मैदानमा हुनुले राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेप बढ्दै गएको देखिन्छ । स्थापित पुराना नेताहरुको अनुभव र अर्कोतिर ‘जेनजी’ तथा युवाहरूको नयाँ भिजनबीचको चुनावी प्रतिस्पर्धा मकवानपुरका रोचक हुने देखिएको छ ।

आगामी निर्वाचनमा सबैभन्दा कान्छो उम्मेदवार २५ वर्षका रहेका छन् । ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर–२ मा उम्मेदवारी दिएको छ । रास्वपाबाट मकवानपुर–२ मा उम्मेदवारी दिएका बनेका प्रशान्त उप्रेती (२५ वर्ष) जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवार हुन् । रास्वपा मात्र होइन अन्य राजनीतिक दलहरुबाट पनि ४० वर्ष मुनिका युवाहरुको उम्मेदवारी उल्लेख्य छ । जसमा रास्वपाका उप्रेती र मकवानपुर–१ का उम्मेदवार ३७ वर्षीय प्रकाश गौतमसहित उज्यालो नेपाल पार्टीका ३० वर्षीय डा. प्रविण कुमार स्याङ्तान र ३६ वर्षीय सुरेन्द्र लामा रहेका छन् । स्याङ्तानले मकवानपुर–२ र लामाले मकवानपुर–१ बाट उम्मेदवारी दिएका छन् । नेकपा माओवादीबाट मकवानपुर–१ मा ३८ वर्षीय महेश नेपाली र मकवानपुर–२ मा ३६ वर्षीय राम घलानले उम्मेदवारी दिएका छन् । मकवानपुर–२ मा जनता समाजवादी पार्टीबाट ३४ वर्षीय दीपक सिन्तान, श्रम संस्कृति पार्टीका ३४ वर्षीय युनेश लामा सिन्तान, राष्ट्रिय जनमोर्चाका ३४ वर्षीय निर बहादुर सिन्तान र संयुक्त नागरिक पार्टीका ३६ वर्षीय शुभराज प्रजा पनि निर्वाचनको मैदानमा छन् ।

पुराना र स्थापित दलहरूले पाका र अनुभवी नेताहरुलाई प्राथमिकता दिएका छन् । कांग्रेस र एमालेले अनुभवी र पाका अनुहारलाई उम्मेदवार बनाएका छन् । कांग्रेस र नेकपा एमालेले ६० वर्षको हाराहारीमा रहेका अनुभवी नेताहरुलाई प्रतिस्पर्धामा उतारेको हो । मकवानपुर–१ मा कांग्रेसबाट उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय ‘डिना’ ६१ वर्षकी हुन् भने मकवानपुर–२ का उम्मेदवार बुद्ध लामा ५८ वर्षका छन् । एमालेबाट मकवानपुर–१ का उम्मेदवार रामेश्वर राना मगर ६३ वर्षका छन् । यद्यपि, एमालेले मकवानपुर–२ मा भने युवा उम्मेदवार ४३ वर्षीय महेश कुमार बर्तौलालाई उठाएको छ ।

नेकपाले पनि नयाँ युवाहरुलाई चुनावी मैदानमा पठाएको छ । नेकपाले ५४ वर्षसम्मका उम्मेदवारलाई मैदानमा खडा गरेको छ । मकवानपुर–१ बाट विजय गौतम (४० वर्ष) उम्मेदवार रहेका छन् भने मकवानपुर–२ मा लवशेर विष्ट (५४ वर्ष) ले उम्मेदवारी दिएका छन् । राप्रपाले सबैभन्दा पाका उम्मेदवारलाई मैदानमा उतारेको छ । मकवानपुर–१ बाट उम्मेदवार बनेका दीपक बहादुर सिंह ६४ वर्षका छन् । जो दलका उम्मेदवारहरु मध्ये सबैभन्दा जेठा हुन् । मकवानपुर–२ बाट राप्रपाका उम्मेदवार राम बहादुर थोकर ५९ वर्षका छन् ।

यस पटकको निर्वाचनमा ‘स्वतन्त्र’ चुनाव लड्ने युवाहरुको संख्या पनि अर्थपूर्ण छ । कुल ११ जना स्वतन्त्र उम्मेदवारमध्ये ४ जना ४० वर्ष मुनिका छन् । महिला उम्मेदवारहरुमा पनि ४ जना स्वतन्त्र र ३ जना मात्र दलको तर्फबाट रहेका छन् । वर्तमान अवस्थामा निर्णायक राजनीतिमा महिलालाई अझै पनि दलहरूले टिकट दिन कञ्जुस्याईँ गरेको देखिन्छ । स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा रहेका युवाहरुमा ३१ वर्षीया प्रतीक्षा बानियाँ, ३८ वर्षीय राजाराम बोगटी, ३८ वर्षीया सीता माया बल र ३९ वर्षीया सुशीला सुवेदी रहेका छन् ।

कुल ४४ जना उम्मेदवारहरु मध्ये महिलाको उपस्थिति भने मात्र ७ जना (करिब १६ प्रतिशत) रहेको छ । मकवानपुर–१ मा नेपाली कांग्रेसबाट ६१ वर्षकी महालक्ष्मी उपाध्याय ‘डिना’, ४९ वर्षकी विद्या श्रेष्ठ महर्जन श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका छन् । ५४ वर्षकी रञ्जना सुवाल मगाजु नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रबाट ३९ वर्षकी सुशीला सुवेदी, ४२ वर्षकी प्रमिला कुमारी खतिवडा उम्मेदवार रहेका छन् । मकवानपुर–२ मा स्वतन्त्रबाट ३१ वर्षकी प्रतीक्षा बानियाँ, ३८ वर्षकी सीता माया बल उम्मेदवार रहेका छन् ।