हेटौँडा : द्वारिका फाउण्डेसनले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ३७ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । अस्पतालमा आँखा उपचार सम्बन्धी आधुनिक उपकरण खरिद गर्न फाउण्डेसनले उक्त रकम उपलब्ध गराएको हो ।
रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ काठमाडौं मिड टाउनको विशेष पहलमा फाउण्डेसनले रकम उपलब्ध गराएको हो । शुक्रबार फाउण्डेसनका पदाधिकारीहरूले अस्पतालको स्थलगत अवलोकन गरेका थिए । सोही अवसरमा एक कार्यक्रमका बीच अस्पताल प्रशासनलाई ३७ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ काठमाडौं मिड टाउनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यसैबीच हेटौँडा सामुदायिक आँखा अस्पतालले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालन गरेको सप्ताहव्यापी निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । शिविरबाट १ हजारभन्दा बढी सर्वसाधारणले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ । माघ ३ गते बाराको कलैया उपमहानगरपालिका–२७ मा सञ्चालित शिविरमा १ सय ७० जना, ४ गते बारागढी गाउँपालिका–५ मा भएको शिविरमा २ सय ४५ जना र ५ गते जितपुर–सिमरा उपमहानगरपालिका–१६ मा भएको शिविरमा १ सय ४२ जनाको आँखा परीक्षण गरिएको ।
यस्तै बुधबार मनहरी गाउँपालिका–३ मा भएको शिविरमा २ सय १० जना, बिहीबार पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ मा भएको शिविरमा १ सय ४४ जना र बिहीबार नै रौटहतको माधवनारायण नगरपालिका–५ मा भएको शिविरमा २ सय २२ जनाले आँखा परीक्षण गरएका थिए । सप्ताहव्यापी निःशुल्क आँखा परीक्षण शिविरमा ओपिडि सेवातर्फ कुल १ हजार १ सय ३३ जनाले सेवा लिँदा १ सय ८५ जनामा मोतियाविन्दुकोे समस्या फेला परेको थियो । तीमध्ये हेटौँडा सामुदायिक आँखा अस्पतालमा बिहीबार ८५ जनाको र शुक्रबार ५७ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । विरामीहरुको औषधी, उपचार र आवतजावत लगायत सम्पूर्ण खर्च अस्पतालले व्यहोरेको अस्पतालका वरिष्ठ लेखा तथा वित्त प्रमुख उमेश महतले जानकारी दिनुभएको छ ।











