गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरिँदै ।

हेटौँडा : लागूऔषध दुव्र्यसन गम्भीर चुनौतीका रूपमा देखिँदै गएको वर्तमान अवस्थामा मकवानपुर जिल्लामा लागूऔषध नियन्त्रण तथा पुनस्र्थापनालाई एकीकृत ढङ्गले अघि बढाउने उद्देश्यसहित ३ महिने जिल्लास्तरीय लागुऔषध विरुद्ध अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनस्र्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन हुने अभियानलाई रोकथाम, उपचार, पुनस्र्थापना र सामाजिक पुनःएकीकरणलाई एउटै साझा ढाँचामा जोडिएको छ ।

अभियानको सुरुवात कार्यक्रममा बोल्नुहुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागूऔषध दुव्र्यसन केवल स्वास्थ्य समस्या मात्र नभई सामाजिक, आर्थिक र सुरक्षा चुनौतीसमेत भएको उल्लेख गर्नु भयो । उहाँले लागूऔषध दूव्र्यसनविरुद्ध सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । ‘लागुऔषध विरुद्धको लडाइँ कुनै एक संस्थाको जिम्मेवारी होइन । यसमा राज्य, परिवार, विद्यालय, समुदाय र नागरिक समाज सबैको साझा भूमिका हुन्छ । मकवानपुरमा सुरु गरिएको यो ३ महिने अभियान व्यवहार परिवर्तन र दीर्घकालीन समाधानतर्फको ठोस कदम हो’, प्रजिअ अधिकारीले भन्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले नीति, समन्वय र नेतृत्वको भूमिकाबाट स्थानीय तह, सुरक्षा निकाय, शिक्षा संस्था र स्वास्थ्य क्षेत्रबीच सहकार्यलाई थप सुदृढ गर्दै अभियानलाई परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले लागूऔषध दुव्र्यसनलाई सार्वजनिक स्वास्थ्य संकटका रूपमा लिँदै उपचार, अनुसन्धान र समुदाय आधारित हस्तक्षेपलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । ‘लागुऔषध दुव्र्यसनको प्रभाव व्यक्तिसम्म सीमित हुँदैन, यसले परिवार र समग्र समाजलाई असर गर्छ । उपचार र पुनस्र्थापनामा पहुँच विस्तार गर्नुका साथै वैज्ञानिक, मानव–केन्द्रित र सम्मानजनक सेवा प्रवाह अत्यन्त आवश्यक छ । यस अभियानमा प्रतिष्ठानको तर्फबाट आवश्यक प्राविधिक तथा शैक्षिक सहकार्य ररहेछ’, उपकुलपति ज्ञवालीले भन्नुभयो ।

अभियानको व्यवस्थापन जिम्मेवारी लिएको सिआन पुनस्र्थापना केन्द्रले पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै पुनस्र्थापना सेवा सञ्चालन गर्दै आएको उल्लेख गर्दै, आफ्नो दीर्घ अनुभव, समुदायसँगको विश्वास र मानव–केन्द्रित दृष्टिकोण प्रयोग गरी अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । ‘लागुऔषध विरुद्धको लडाइँ सामूहिक जिम्मेवारी हो’ भन्ने सन्देशसहित मकवानपुर जिल्लाका सम्पूर्ण नागरिक, स्थानीय सरकार, शिक्षा संस्था, सञ्चारकर्मी र नागरिक समाजलाई अभियानमा सक्रिय सहभागिताका लागि आव्हान समेत गरिएको छ ।