सम्झौतामा हस्ताक्षर गरिँदै ।

हेटौँडा : लागूपदार्थ दूव्र्यसनहरुको पुनस्र्थापना केन्द्र सिआन पुनस्र्थापना केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन, लागूऔषध तथा लागूपदार्थ दुव्र्यसनबाट पुनःस्थापना, तथा सार्वजनिक स्वास्थ्य र शिक्षाको स्तर अभिवृद्धि गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा सम्झौता भएको हो । समझदारी अनुसार दुवै संस्थाले आपसी चासोका क्षेत्रहरूमा सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका आधारमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लागूऔषध तथा लागूपदार्थ दुव्र्यसन पुनस्र्थापना, मानसिक स्वास्थ्य सहयोग तथा परामर्श सेवा, सार्वजनिक स्वास्थ्यसम्बन्धी जनचेतना तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, क्लिनिकल सहयोग तथा इन्टर्नशिप (प्रशिक्षण) अवसर प्रदान गर्ने, क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने, संयुक्त अनुसन्धान तथा प्रकाशन, संकट हस्तक्षेप तथा समुदायस्तरीय पहुँच विस्तार, साथै नीति पैरवी तथा रणनीति विकासमा सहकार्य गर्ने सहमति भएको छ ।

सिआन पुनस्र्थापना केन्द्रको तर्फबाट कार्यकारी निर्देशक सौजन डिसी र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको पनि आतिथ्य रहेको थियो । लागूऔषध दुव्र्यसन तथा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतिको रूपमा देखा परिरहेको वर्तमान अवस्थामा प्रतिष्ठान र पुनस्र्थापना केन्द्रबीचको सहकार्य प्रभावकारी हुने सरोकारवालाले विश्वास व्यक्त गरेका छन् । उक्त समझदारीले अनुसन्धान, सेवा प्रवाह र जनचेतनामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।