हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको साहित्य सम्मेलन सम्पन्न भएको छ । बुधबार बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘पठन संस्कृति’ विषयक प्यानल छलफल भएको प्रधानाध्यापक किशोर पराजुलीले बताउनु भयो ।
कार्यक्रममा साहित्यकारहरू भूपिन खड्का, निमेष निखिल, बिना थिङ र पवित्रा अधिकारीसहित मकवानपुरका विभिन्न साहित्यिक संघ, संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बहसमा सहभागी वक्ताहरुले विद्यार्थीहरूमा पछिल्लो समय घट्दै गएको पठन संस्कृतिलाई सुधार गर्न विद्यार्थीलाई पाठ्यक्रमका पुस्तकमा मात्र सीमित नराखी अन्य बाह्य र रोचक पुस्तकहरू पढ्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो ।
विद्यार्थीहरूको चौतर्फी विकास र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि विद्यालयले कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक पराजुलीले बताउनु भयो । कार्यक्रममा उपस्थित साहित्यकार र विद्यार्थीहरूले आ–आफ्ना रचनाहरू वाचन गरेका थिए । साहित्य सम्मेलनमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो । विद्यालयले मंगलबारदेखि शुक्रबारसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरी स्वर्ण उत्सव मनाउँदै छ । यसअघि प्रगति माध्यमिक विद्यालयले शिक्षक सम्मेलनको समेत आयोजना गरेको थियो ।











