अध्यक्ष प्रताप विष्ट ।

हेटौँडा : सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जको सञ्चालक संस्था सञ्चार संघ नेपालको अध्यक्षमा अग्रज पत्रकार प्रताप विष्ट चयन हुनुभएको छ । सोमबार हेटौँडामा सम्पन्न साधारण सभाबाट विष्टको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष विष्टले रेडियो माध्यम व्यावसायिक रुपमा सञ्चालन हुन कठिन भएको, स्रोतहरुले पनि कम महत्व दिएको सन्दर्भमा सञ्चालकहरुले मिहिनेत गर्नुपर्ने बताउनुभयो । सञ्चालक र सदस्यहरु विस्तार गरेर रेडियोलाई स्रोताको ध्यानाकर्षण गर्ने गरी व्यवस्थापन गर्न सबैको साथ र सहयोग जरुरी हुने पनि उहाँको भनाइ थियो । साधारण सभाबाट उपाध्यक्षमा संगीता उप्रेती, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा सुशील राज गिरी, कोषाध्यक्षमा विक्रम खतिवडा चयन हुनुभएको छ । यस्तै सदस्यमा सरोज थापा, बुद्धवीर लामा, विश्वराज सिग्देल, दीपक अधिकारी, दिपेन्द्र ढकाल र मोहनप्रसाद ढकाललाई चयन गरेको छ ।

सञ्चार संघ नेपालका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले पछिल्लो समय रेडियो माध्यमको स्रोतको घट्दो आकर्षणलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । संस्थामा आवद्ध विभिन्न क्षेत्रमा व्यक्तित्वहरुले रेडियोलाई सञ्चारको प्रभावकारी माध्यमको रुपमा स्थापित गराउन प्रयास गर्ने विषयमा छलफल भएको महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभएको छ । सञ्चार संघले सदस्यता विस्तार गरेर रेडियोप्रति समुदायका सबै क्षेत्रको ध्यानाकर्षण गराउने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।