मकवानपुर क्षेत्र नम्बर– १ का पूर्व सांसद दीपक बहादुर सिंह

हेटौँडा : आसन्न प्रतिनिधसभा निर्वाचनका लागि राप्रपाले मकवानपुरको दुई वटै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर– १ बाट पूर्व सांसद दीपक बहादुर सिंह उम्मेदवार बन्नुहुने छ भने मकवानपुर–२ बाट राम बहादुर थोकर उम्मेदवार बन्नुहुने भएको छ । उहाँहरुले मंगलबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

मकवानपुर–१ मा उम्मेदवार सिंह यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनु भएको थियो । उहाँले तत्कालिन समयमा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ र एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई हराउनु भएको थियो ।

आगामी निर्वाचनमा मकवानपुर–१ मा सिंह विरुद्ध एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डिनाको चर्चा रहेको छ । नेकपाले सो क्षेत्रमा उम्मेदवार फाइनल गर्न सकेको छैन । सो क्षेत्रमा नेकपाले विजय गौतमलाई टिकट दिन सक्ने चर्चा रहेको छ ।

मकवानपुर–२ मा भने एमालेले पूर्व सांसद महेश बर्तौलालाई टिकट दिएको छ भने नेकपाबाट सो क्षेत्रमा थाहा नगरपालिकाका पूर्व मेयर लवशेर विष्ट उम्मेदवार बन्ने पक्का भएको छ । कांग्रेसबाट सो क्षेत्रमा जयराम लामिछानेसहित ४ जनाको नाम चर्चामा रहेको छ र रास्वपाबाट सो क्षेत्रमा भरत पराजुलीले प्रतिस्पर्धा गर्ने देखिन्छ । तर, कांग्रेस र रास्वपाको टिकट भने अझै टुंगिएको छैन ।