हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता २०८२ का लागि मकवानपुर जिल्लास्तरीय पुरुष खेलाडी छनोट प्रक्रिया हेटौँडामा सुरु भएको छ । आइतबारदेखि हेटौँडा–४ स्थित हुप्रचौरमा क्रिकेट संघ मकवानपुरको आयोजनामा खेलाडी छनोट कार्य सुरु भएको हो ।
छनोट कार्य आगामी ६ दिनसम्म चल्ने क्रिकेट संघ मकवानपुरका सदस्य एवम् कार्यक्रम संयोजक संजोग पोखरेलले जानकारी दिनुभयो । यस वर्ष जिल्लास्तरीय छनोटका लागि ५६ जना खेलाडीले आवेदन दिएका छन् । सहभागी खेलाडीहरूलाई ४ वटा टिममा विभाजन गरिएको छ । छनोट प्रक्रिया अन्तर्गत प्रत्येक टिमले एकअर्कासँग एकदिवसीय अभ्यास खेल खेल्ने संयोजक पोखरेलले जानकारी दिनुभयो । अभ्यास खेलको प्रदर्शनका आधारमा सुरुमा २२ जना खेलाडीलाई छनोट गरिनेछ । त्यसपछि उत्कृष्ट १४ जना खेलाडीलाई बागमती प्रदेशस्तरीय छनोटमा पठाइने छ भने ४ जनालाई वैकल्पिक खेलाडीको रुपमा राख्ने संयोजक पोखरेलले बताउनु भयो ।
नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौंबीच प्रदेशस्तरीय छनोट प्रतियोगिता हुनेछ । २०८१ सालको प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुर उपविजेता बनेको थियो । फाइनल खेलमा ललितपुरसँग पराजित भए पनि मकवानपुरका ५ जना खेलाडी प्रदेश टोलीमा पर्न सफल भएका थिए । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यतालिकामा पुरुषतर्फको प्रधानमन्त्री कप प्रतियोगिता मार्चमा हुने उल्लेख छ ।











