हेटौंडाः हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना प्रयोगशालामा हिजो साँझ प्राप्त रिपोर्टअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका ५ जना थुनुवा र १ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हिजो साँझ प्रकाशित गरेको विज्ञप्तिमा मकवानपुर जिल्लाका १५ जना सङ्क्रमित भएको पुष्टि गरे पनि सङ्क्रमितको ठेगाना, उमेर समूह, लिंग विवरण प्रकाशित गरेको थिएन ।
आज बिहान हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले प्रकाशित गरेको सङ्क्रमितको विवरणअनुसार १ जना प्रहरीसहित ११ जना हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका रहेको उल्लेख गरिएको छ भने जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका ३ जना थाहा नगरपालिकाका र २ जना बारा जिल्लाको रहेको जनाइएको छ । हेटौंडा उपमहानगरपालिकाले आज उपलब्ध गराएको विवरणअनुसार हिजो साँझ प्राप्त प्रयोगशाला रिपोर्टअनुसार मकवानपुर जिल्लाका १५ जना र थुनुवा कक्षमा रहेका बारा जिल्लाका २ जनासहित कुल १७ जना सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमित १७ जना मध्ये ५ जना महिला र १२ जना पुरुष छन् ।
हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डमा भदौ ७ गते सङ्कलन गरिएको १०२ वटा स्वाब नमूना मध्ये १७ जनामा सङ्क्रमण पुष्टि भए पनि अन्य सबै नमूना सङ्क्रमण नभएको हो या होइन भन्ने निश्चित भइनसकेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । हिजै दिउँसो सार्वजनिक भएको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाका ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । हिजो दिउँसो सङ्क्रमण पुष्टि भएका मध्ये ४३ जना हेटौंडा उपमहानगरपालिकाका स्थायीवासी हुन् भने २ जना मकवानपुर जिल्ला बाहिरका स्थायी नागरिक भए पनि जिल्लाभित्रै बसोबास गर्दै आएका नागरिक भएको उपमहानगरपालिकाले जनाएको छ ।