हेटौँडा : बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा हेटौँडाको बालजागृति इंग्लिस सेकेण्डरी स्कूल प्रथम भएको छ । शनिबार बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको आयोजनामा हेटौँडामा भएको प्रदेशस्तरीय प्रदर्शनीमा बालजागृति प्रथम भएको हो ।
प्रथम स्थान हासिल गर्न सफल भएको बालजागृति स्कूलले नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रदर्शनीमा चितवनको माडी माध्यमिक विद्यालय द्वितीय, भक्तपुरको आदर्श माध्यमिक विद्यालय तृतीय र सिन्धुपाल्चोकको कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको छ । द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा भएको प्रदर्शनीमा बागमती प्रदेशका १२ जिल्लाका विद्यालयको सहभागिता रहेको थियो । जिल्लास्तरीय प्रतियोगितामा प्रथम भएका विद्यालयहरु प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका थिए । बागमती प्रदेशको दोलखा जिल्लाको सहभागिता रहेको थिएन । पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिँदै आएको बताउनु भयो ।
बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयका महानिर्देशक गोपालप्रसाद कँडेलको सभाध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादे, हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंको उपस्थिति रहेको थियो ।











