हेटौँडा : हेटौँडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–९ स्थित कृष्णआदर्श इंग्लिस बोर्डिङ स्कूलले जितेको छ । शनिबार दिउँसो सम्पन्न फाइनल खेलमा हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयलाई २–१ को सेटमा पराजित गर्दै कृष्णआदर्शले उपाधि जितेको हो ।
पहिलो सेट २४–२६ ले गुमाएको कृष्णआदर्शले दोस्रो र तेस्रो सेट क्रमशः २५–२२ र १५–६ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गरेको हो । यसअघि शनिबार बिहान भएको सेमीफाइनल खेलमा ज्योति माध्यमिक विद्यालयले जीएस निकेतनलाई २५–१३, २२–२५ र १५–९ को सेटले पराजित गरेको थियो । यस्तै कृष्ण आदर्शले ज्ञानोदय आवासीय माध्यमिक विद्यालयलाई २५–२३ र २५–१७ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को आयोजना तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता हिजो शुक्रबारबाट सुरु भएको हो । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा प्रतियोगिता भएको हो ।











