हेटौँडा : काँग्रेस केन्द्रमा ठूलो विभाजन, विपद् देखिरहँदा मकवानपुरमा भने काँग्रेसजन शान्त देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा आइतबारदेखि काठमाडौंमा सुरु भएको विशेष महाधिवेशनले सभापति र महामन्त्रीहरुबीचको दूरीलाई अझ फराकिलो परिरहँदा मकवानपुरले काँग्रेस नेताहरु स्पष्ट रुपमा खुलेका छैनन् ।
विशेष महाधिवेशनमा २७ देखि २९ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर रहेको भनिए पनि स्पष्ट संख्या खुलेको छैन । बुधबार दिउँसोदेखि नै पार्टी फुटको स्थितिमा पुग्दासम्म मकवानपुरका काँग्रेस नेताहरुले सभापति या महामन्त्री कसको पक्षमा भन्ने खुलेर बोल्न सकेका छैनन् । कार्यकर्ता तहमा भने सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया देखिएको छ । मकवानपुरका काँग्रेस नेताहरुमध्ये सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेश सभापति एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सभापति देउवा पक्षमा देखिनुभएको छ भने काँग्रेस नेता रामचन्द्र अर्याल माइकल, जयराम लामिछाने, लक्ष्मीदेवी श्रेष्ठ, आनन्दराम पराजुली, ताराचन्द्र बजगाई महामन्त्रीद्वयको पक्षमा देखिनुभएको छ ।
महाधिवेशन प्रतिनिधिहरु उर्मिला पुलामी, मिठाराम दाहाल, सुवास सिं थिङ, सूर्यबहादुर रुम्बा, निलम देवकोटासहितले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नुभएको छ । नेपाली काँग्रेस प्रदेश सभा १ (१) का सभापति सुशान्त श्रेष्ठ, काँग्रेस नेतृ महालक्ष्मी उपाध्याय डीनाका श्रीमान् महासमिति सदस्य दिने उपाध्याय, राधा कोइराला पनि महामन्त्रीको पक्षमा रहेर विशेष महाधिवेशनमा सहभागी हुनुहुन्छ । विशेष महाधिवेशन सुरु भएदेखि नै संघीय राजधानी काठमाडौंमा सभापति देउवा र महामन्त्रीद्वय थापा, शर्माबीच विभाजन बढ्दै जाँदा मकवानपुरे काँग्रेसहरुले आफूलाई स्पष्ट रुपमा प्रस्तुत गर्न सकेनन् । बुधबार पार्टी विभाजनको संघारमा पुगिसक्दा पनि मकवानपुरका काँग्रेस नेताहरु आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिरहेका थिएनन् ।
मकवानपुरका सर्वसाधारण भने काँग्रेसमा महामन्त्रीद्वयको अग्रसरताको प्रशंसा गरेका छन् । हेटौँडा–८ का वडाध्यक्ष राम थापाले अर्जुन पराजुलीको कवितासहित आफू प्रष्ट काँग्रेस भएको जीकिर गर्नुभएको छ । उहाँले विशेष महाधिवेशन र महामन्त्रीद्वयको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।











