हेटौँडाः मकवानपुर जिल्लाको ५ वटा गाउँपालिकाले मञ्जुश्री सम्वत् २८६२ (घोडा वर्ष) प्रारम्भ हुने सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा माघ ४ र ५ गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिकाले ४ र ५ गते बिदा दिएको छ भने बकैया गाउँपालिकाले ३, ४ र ५ गते तीन दिन बिदा दिने निर्णय गरेको छ । बिदाको अवधिमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघसंस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
सबैलाई पर्व सभ्य, शान्त र उल्लासपूर्वक मनाउन आग्रहसमेत गरेको छ । बाँकी पालिकामा बिदाबारे कुनै जानकारी नभएको सूचना अधिकारीहरुको भनाइ छ ।
