भीमफेदीमा सवारी चालकको स्वास्थ्य जाँच गरिँदै ।

हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग भीमफेदी–कुलेखानी सडकमा लागूऔषध सेवन गरी सवारी चलाउने १२ जना चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौँडाको संयुक्त टोलीले सुरक्षाजाँचका क्रममा मंगलबार १२ जनालाई भीमफेदीबाट पक्राउ गरिएको हो ।

लागूऔषध सेवन गरी सुमो चलाउने हेटौँडा–१४ का २६ वर्षीय अमिर नुल थिङ, हेटौँडा–१२ का ३८ वर्षीय खेम बहादुर रुम्वा, चितवन जिल्लाको रत्ननगर नगरपालिका–१४ का २५ वर्षीय वादल रेग्मी, हेटौँडा–५ का २९ वर्षीय शिव प्रसाद देवकोटा, हेटौँडा–४ का १९ वर्षीय मनिष गौतम, हेटौँडा–११ का २१ वर्षीय बिनोद वल, बोलेरो चालक सर्लाही जिल्लाको रानीगञ्ज गाउँपालिका–९ का २४ वर्षीय कोबिन्द्र राय यादव छन् ।

यस्तै ईभी चालक बारा जिल्लाको कोल्वी नगरपालिका–३ का २३ वर्षीय प्रकाश सुनार, रौतहट जिल्लाको विजयपुर नगरपालिका–४ का २६ वर्षीय मोहन यादव, बिङ्गर चालक सर्लाही जिल्लाको हरिवन नगरपालिका–९ का ३० वर्षीय मनोज महत, योद्धा चालक पर्सा जिल्लाको बीरगंज महानगरपालिका–२५ का २५ वर्षीय पारस कुमार तुराहा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१० का २४ वर्षीय जेन्स चौधरीलाई पनि लागूऔषध सेवन गरी सवारी चलाएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।