हेटौँडाः हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सोमबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उक्त प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपश्चात सम्बोधन गर्दै नगर प्रमुख लामाले हेटौँडामा खानेपानीको समस्याहरु हल हुँदै गएको बताउनुभयो । खानेपानीको समस्या कम हुँदै गए पनि नाला तथा ढल व्यवस्थापनको समस्या भने बढ्नै गएको उहाँको भनाइ छ । हेटौँडालाई विकसित शहर बनाउन आवश्यक पर्ने ढल व्यवस्थापन तथा निर्माणलाई उपमहानगरले जोड दिँदै आगामी दिनमा संघीय सरकारसँग मिलेर ढल व्यवस्थापनको काम गर्ने योजना रहेको स्पष्ट पार्नुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ५० प्रतिशत तथा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको ५० प्रतिशत लगानीमा प्रयोगशाला स्थापनाका लागि ३० लाखको टेण्डर आह्वान गरेकोमा जेएचएस एनालाइटिक काठमाडौंले २२ लाखको लगानीमा उपकरण खरिद तथा सेटिङ गरेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । प्रयोगशालामा आवश्यक फर्निसिङ, स्ल्याब निर्माणलगायत अन्य पूर्वाधार निर्माणका लागि १० लाख, प्रयोगशाला सञ्चालन सुरु गर्न आवश्यक केमिकल तथा रसायन खरिदमा २ लाख ५० हजार गरी ३४ लाख ५० हजार खर्च भएको बोर्डका अध्यक्ष प्रताप बिष्टले जानकारी दिनुभयो ।

प्रयोगशाला सञ्चालनमा ल्याउन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले ११ लाख र बोर्डबाट २३ लाख ५० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । अत्याधुनिक सुविधायुक्त प्रयोगशालामा मकवानपुरका साथै छिमेकी जिल्लाहरुका बासिन्दालाई पनि पानी परीक्षण गराउन सहज हुने अध्यक्ष बिष्टको भनाइ छ । प्रयोगशालामा मकवानपुरबाहेक पर्सा, बारा, रौतहट, सर्लाही तथा सिन्धुली जिल्लाबाट समेत पानी परीक्षणका लागि आउने गरेको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष बिष्टले प्रयोगशालामा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका उपभोक्ताहरुले आफ्नो धाराको खानेपानी परीक्षण गराउन चाहेमा निःशुल्क सेवा दिने बताउनुभयो । बोर्ड बाहेकका उपभोक्ताबाट सेवा लिन आउनेलाई सशुल्क सेवा दिइनेसमेत उहाँले बताउनुभयो । विसं २०७५ सालदेखि नै बोर्डले सामान्य उपकरणद्वारा पानी परीक्षण गर्दै आएकोमा अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरयुक्त परीक्षण हुने भएकाले नतिजामा बढी विश्वसनीयता रहने दाबी उहाँले गर्नुभयो ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ को गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएको २८ वटा सूचकले पानी परीक्षण गर्न सहज हुने बोर्डको अपेक्षा छ । सुरुवाती चरणमा पानीको भौतिक, रासायनिक तथा माइक्रोबायोलोजिकल प्रकारका २८ मध्ये १४ वटाको परीक्षण गर्न सकिने बोर्डको प्रयोगशालाका कार्यालय सहायक माधव चौलागाईंले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, खानेपानी तथा सरसफाई डिभिजन नं १ का डिभिजन प्रमुख रवीन श्रेष्ठ, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति थियो ।