हेटौँडा : निःशुल्क स्वास्थ्य तथा दन्त शिविरबाट ४ सयभन्दा बढीले सेवा लिएका छन् । बकैया गाउँपालिकामा हिजो सञ्चालन भएको निःशुल्क स्वास्थ्य तथा दन्त शिविरमा ४ सय ५० ले सेवा प्राप्त गरेका छन् ।
रोटरी क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको कार्यक्रम संयोजक मोहनप्रसाद ढकालले जानकारी दिनुभयो । गाउँपालिका र चितवन मेडिकल कलेजले सहयोग र सहकार्यमा शिविर सञ्चालन भएको थियो । चितवन मेडिकल कलेजको टिमले शिविरमा कान, नाक तथा घाँटी जाँच गरेका थिए ।
यस्तै, हाडजोर्नी, बालरोग, दन्त, आन्तरिक चिकित्सा, फिजियोथेरापी, नेत्ररोग र प्रसुति तथा स्त्रीरोग सम्बन्धी सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरमा ल्याब परीक्षण तथा औषधिहरु निःशुल्क रुपमा उपलब्ध गराइएको हो ।











