हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा स्थानीयले राजमार्ग अवरोध गरेका छन् । आइतबार दुर्घटनामा परी स्थानीयको मृत्यु भएको विरोधमा सोमबार दिउँसो १२ बजेदेखि राजमार्ग अवरोध गरिएको हो ।
आइतबार दिउँसो मनहरी गाउँपालिका–९, ज्यामिरेमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ का ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको थियो । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । मोक्तानको उपचारको क्रममा आइतबार दिउँसो २ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्रक चालक हेटौँडा–११, थानाभ¥याङका ५४ वर्षीय बुद्धि बहादुर स्याङ्तान र ट्रक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी क्षेत्रमा सवारी दुर्घटनामा परी मानवीय क्षतिको घटना उल्लेख्य हुने गरेको छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ ।
