निर्वाचन प्रहरी बन्न जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिन सहभागी युवाहरु । फाइल तस्वीर ।

हेटौँडा : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा खटिनका लागि मकवानपुर जिल्लामा ८ सय ७७ जनाले निर्वाचन प्रहरी हुन आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन खुलेको तीन दिनको अवधिमा ८ सय ७७ जनाले आवेदन दिएका हुन् ।

आवेदन खुलेको पहिलो दिन शुक्रबार ८० जनाले मात्रै आवेदन दिएका थिए भने दोस्रो दिन शनिबार ४ सयले र तेस्रो दिन आइतबार ३ सय ९७ जनाले आवेदन दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आसन्न निर्वाचनका लागि मकवानपुर जिल्लामा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी आवश्यक हुनेछ । माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसअघि म्यादी प्रहरी भनेर भर्ना हुने गरिएको थियो । निर्वाचनमा खटिने भएकोले निर्वाचन प्रहरी भनेर सरकारले भर्ना प्रक्रिया सुरु गरेको छ ।