कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडा : हेटौँडा–४, स्कूलरोडस्थित सिजन ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले १८औँ प्रशिक्षार्थी समूहलाई प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको हो । हेटौँडाकै पुरानो तालिम केन्द्रका रूपमा सिजन ब्यूटी पार्लरले विगत २३ वर्षदेखि महिला सीप विकास र आत्मनिर्भरता प्रवद्र्धनमा योगदान दिँदै आएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले महिलाहरू उद्यमशील बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउने समेत बताउनुभयो । विशेष अतिथि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले महिलाको सीप र उद्यमशीलता प्रवद्र्धनमा स्थानीय तह सहयोगी रहने बताउनुभयो ।

सिजन ब्यूटी पार्लरकी सञ्चालक संगीता श्रेष्ठले विगत २३ वर्षमा सयौँ प्रशिक्षार्थीलाई दक्ष ब्यूटिसियन बनाइसकेको जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुरका अनुभवी ब्यूटिसियन तथा प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा सञ्चालक श्रेष्ठले परिवारको सहयोगले निरन्तरता सम्भव भएको बताउनुभयो । महिला सीप विकास र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्पन्न कार्यक्रमलाई सहभागीहरूले प्रेरणादायी बताएका छन् ।