हेटौँडा : हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको शेयर पुँजी ५ करोड २ लाख २९ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।
संस्थाले हाल ५९ करोड १६ लाख ६५ हजार रुपैयाँ बचत रकम संकलन गरेको पनि अध्यक्ष बस्नेतले बताउनुभयो । संस्थाको जगेडा कोषमा ४ करोड ११ लाख ७७ हजार रहेको अध्यक्ष बस्नेतले प्रतिवेदनमार्फत स्पष्ट पार्नुभयो । यसैगरी आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी कोषाध्यक्ष पार्वती भट्टले गत वर्षको तुलनामा संस्थाको कुल सम्पत्तिमा ६.४० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । कार्यक्रममा खबर सहकारी डटकमका सम्पादक श्रीराम अर्जुनलाई पुरस्कृत गरिएको छ । संस्थाको नियमित बचततर्फ शारदा दाहाल, सीता अर्याल र बिन्दा भ्लोनलाई पुरस्कृत गरेकोे छ । सामाजिक व्यक्तित्व यशोदाकुमारी उप्रेतीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा असल ऋणितर्फ विमला लामा, मदन घलान र सीता गिरीलाई पुरस्कृत गरिएको छ । बाल बचतकर्ताहरु तीन जना, दैनिक बचततर्फ ३ जना, पेन्सन बचत, आवधिक बचत, संरक्षित पुँजी फिर्ता र एकै दिन संस्थाको सदस्यता लिने ५ दम्पतीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, निवर्तमान व्यवस्थापक, लेखा सुपरीक्षण समिति, ऋण उपसमिति तथा महिला उपसमितिको तर्फबाट प्रतिवेदन प्रस्तुत भएका थिए । सभाले संस्थाको अधिवेशनका लागि आज २७ गते आइतबार उम्मेदवारी दर्ता गराउने, माघ ९ गते उम्मेदवारीबाट नाम फिर्ता लिने र १० गते अधिवेशन निर्वाचन गर्ने निर्णयसमेत गरिएको संस्थाले जनाएको छ ।











