अनुगमन टोलीद्वारा धापटोल क्षेत्रको अनुगमन गर्दै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडामा निषेधाज्ञालाई प्रभावकारी बनाउन संयुक्त अनुगमन भएको छ । वडाले गठन गरेको संयुक्त अनुगमन टोलीले आज बिहान वडाको गुम्बाचोक, सिमेन्टरोड, धापटोल, लामसुरे हाइट हुँदै इलाका प्रहरी कार्यालय पशुपतिनगर चोकसम्म अनुगमन गरिएको छ । स्थानीय प्रशासनले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेभन्दै लागू गरेको निषेधाज्ञा प्रभावकारी बनाउन अनुगमन टोली नै बनाएर ९ नम्बर वडाले अनुमगन गरिरहेको छ ।

वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, वडा सदस्यहरु सुकराम केसी, लक्ष्मी विकसहित इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी प्रतिनिधिसहितको अनुगमन टोलीले वडाका खाद्यान्न व्यवसायीलाई सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न, समुदाय सर्वसाधारणर्लाइ मास्कको प्रयोग गर्न, सरसफाईमा ध्यान दिन, भौतिक दूरी कायम राख्न आग्रह गरिएको अनुगमन समितिका सदस्य नरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरक्षेत्रमा ९ नम्बर वडा बढी सङ्क्रमित भएको वडा समेत हो । वडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न क्वारेन्टिन नै सञ्चालन गरेको छ ।