हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा २ महिनादेखि प्रमुखविहीन बनेको छ । गत कात्तिक २० पछि साविकका अधिकृत दशौँ तहमा कार्यरत सीताराम कोइरालाको सरुवा भएसँगै सो महाशाखा प्रमुखविहीन बनेको हो ।

हाल कार्यालयमा काम चलाउका रुपमा आठौँ तहका हरिचन्द्र सापकोटा निमित्त प्रमुख रहनुभएको छ । बढुवा प्रक्रियामा गई सो दरबन्दीमा पदपूर्ति गर्न हेटौँडा उपमहानगरपालिकाबाट आर्थिक भार बढ्ने भएकाले नगरले कर्मचारी बढुवा प्रक्रियामा नगई प्रदेशबाट हुने कर्मचारी नियुक्ति कुरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिनुभयो ।

यद्यपि हालसम्म प्रदेश सरकारबाट कुनै पनि प्रतिक्रिया नआएको प्रमुख गौतमले बताउनुभयो । उहाँले हाल उपमहानगरपालिकाको वडा तथा महाशाखाहरुमा कर्मचारी वितरण अनुपात नमिलेको स्पष्ट पार्दै कुनै महाशाखामा कर्मचारी बढी भएको र कुनै महाशाखामा कमी भएको विषयमा पनि छिट्टै मिलान गर्ने जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरमा पनि कात्तिकदेखि जिल्ला समन्वय अधिकारी नआइपुग्दा प्रशासनिक तथा आर्थिक कामकाज रोकिएका छन् । जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा कार्तिक ११ गते रौतहटको गुजरा नगरपालिकामा सरुवा भएसँगै कार्यालय नेतृत्वविहीन बनेको हो ।

विश्वकर्माको स्थानमा कमला घिमिरे सरुवा भएर आए पनि सुरुमै १५ दिने विदेश भ्रमणमा रहेकाले कार्यालयमा खासै समय नदिई पुनः अन्यत्र सरुवा गरिएपछि हालसम्म पनि समन्वय अधिकारीविहीन रहेको छ । उक्त पदमा पुस ८ गते विष्णुप्रसाद पौडेल सरुवा भएको भए तापनि हालसम्म पौडेल उपस्थित नभएको जिल्ला समन्वय समितिले जनाएको छ । कार्यालयको प्रमुख कर्मचारी नहुँदा योजनाका कामहरु रोकिएको समन्वय समितिकी सूचना अधिकारी इन्दिरा पौडेलले जानकारी दिनुभयो ।