हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालको थप नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पतालको स्वास्थ्य सेवा थप गर्ने उद्देश्य राखेर सुरु गरिएको सो भवनको निर्माण अन्तिम चरणमा पुगेको हो ।
७ हजार ४ सय २६ वर्गमिटर क्षेत्रफलमा बनेको सो ५ तले भवन संघीय सरकारको २२ करोड ४६ लाख रुपैयाँमा निर्माण गरिएको हो । २०७८ असार १८ गते शहरी विकास तथा भवन कार्यालय मार्फत निर्माण कम्पनी बिकोई नवसिर्जनशील जेभीसँग २ वर्षको निर्माण सम्झौता गरे पनि निर्माण पूरा नभएपछि २०८० मा पुनः २ वर्ष म्याद थप गरेपछि यहि पुसभित्र निर्माण गरिसक्ने सम्झौता भएको थियो । थप अवधिमा भने निर्माण कम्पनीले समयभित्रै काम पूरा गरी हस्तान्तरणको तयारीमा रहेको छ ।
भवनको भौतिक प्रगति ९९.५ प्रतिशत र आर्थिक प्रगति ९३ प्रतिशत भइसकेकोे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमर अधिकारीले जानकारी दिनुभयो । अस्पतालको विभिन्न सेवा वृद्धि गरी २ सय शैयाको अस्पताल सञ्चालन गर्ने प्रतिष्ठानको योजनालाई भवन निर्माण भइसकेपछि बढाउन सकिने बताउनुभएको छ । अब छिट्टै यो भवन हस्तान्तरण हुने तयारीमा रहेको प्रतिष्ठानले जनाएको छ ।
सेवा थप्ने अस्पतालको तयारी
हेटौंडा अस्पतालको प्राङ्गणभित्र निर्माण गरिएको १ सय ५० कोठाहरु रहेको सो भवन पूरा भएपछि हाललाई ३ तलामात्र स्वास्थ्य सेवाका लागि उपयोगमा ल्याइने हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रतिष्ठानको शैक्षिक भवन निर्माणाधीन अवस्थामा रहेकाले यस वर्ष भने सोही भवनको एउटा तलामा एमबीबीएसको कक्षा सञ्चालन गरिने र एक तलामा कार्यालयलगायतका प्रशासनिक काम हुनेछ । बाँकी तीन तलाहरुमा स्वास्थ्य सेवाका केही ओपीडी, केही वार्ड राख्ने हाम्रो योजना छ ।’ मेडिकल सुपरिटेन्डेन्ट डा सापकोटाका अनुसार हाल अस्पतालमा सञ्चालन गर्न स्रोत साधन र स्थान नपुगेका सेवाहरु नवनिर्मित भवनमा स्तरोन्नतिसहित थप गर्दै जाने अस्पतालको योजना छ ।
हाल अस्पतालमा नरहेको आँखाको ओपीडी, नाक, कान, घाँटीको सेवा विस्तार तथा स्तरोन्नतिसहितको ओपीडी सञ्चालन गरिनेछ । हाल अस्पतालमा रहेको डायलासिस सेन्टरमा दैनिक ४० देखि ४४ जनाको डायलासिस गराउँदै आएकोमा मेसिन तथा सेवा थप गरी दैनिक ७० भन्दा बढीलाई डायलासिस सेवा उपलब्ध गराउने लक्ष्य राखेको पनि डा सापकोटाले बताउनुभयो । मृगौला सम्बन्धी अन्य रोगहरुको उपचार पनि यहीँबाट सञ्चालन गर्ने अस्पतालको तयारी छ ।
यस्तै, अस्पतालमा रहेको साइकाइट्रिक (मनोरोग) वार्डलाई समेत यसै भवनमा स्थानान्तरण गर्ने तयारी रहेको छ । यस भवनमार्फत मृगौला, न्युरोलगायतका ओपीडीलाई विस्तारित रुपमा सेवा प्रदान गर्ने तयारी भइरहेको पनि डा सापकोटाले स्पष्ट पार्नुभयो । अस्पतालले यस भवनमा मनोरोग वार्ड तथा मृगौला विशेष सेवा छुट्याई बाँकी स्थानमा सामान्य बिरामीका लागि जनरल वार्ड पनि विस्तार गर्ने लक्ष्य राखेको छ भने प्रतिष्ठानको शैक्षिक भवन निर्माणपछि पूरै भवनमा स्वास्थ्य सेवा सञ्चालन गर्ने अस्पतालको तयारी छ । यसै आर्थिक वर्षमा अस्पतालमा एउटा एनआईसीयु तथा पिआईसीयु निर्माण तथा सञ्चालन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।











