हेटौँडा : बागमती प्रदेश सरकारले सहकारी व्यवस्थापन समितिमा पदाधिकारी मनोनयन गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ को अध्यक्ष र सदस्यहरूको मनोनयन गरेको हो ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले समितिको रिक्त रहेको अध्यक्षमा शिवप्रसाद सिग्देल र सदस्यहरू दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गरेको हो । समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्रता दिन यस समितिको पुनर्गठन गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेमा रहेको ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’ कार्यालयलाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । यसअघि काभ्रेको धुलिखेलबाट सेवा प्रवाह गरिरहेको सो प्रयोगशालालाई भक्तपुरबाट सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै, स्वास्थ्य मन्त्रालयकै अर्को प्रस्तावमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित भएको छ ।
