Home खेलकुद बागमती गोल्डकप : बागमती युथले चर्च ब्वाइजलाई हरायो

बागमती गोल्डकप : बागमती युथले चर्च ब्वाइजलाई हरायो

बागमती युथ क्लबको फुटबल टिम ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपमा सर्लाहीको बागमती युथ क्लबले साविक विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरलाई पराजित गरेको छ । आइतबार सहिद स्मृति रंगशालामा भएको खेलमा बागमतीले चर्च ब्वाइजलाई २–१ गोलले हराएको हो । सुरुवाती अग्रता लिएको चर्च ब्वाइजविरुद्ध बागमतीले शानदार पुनरागमन गरेको हो ।

चर्च ब्वाइजका लागि सुसन मगरले ११ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बागमतीका लागि अनिष महर्जनले खेलको २८ मिनेटमा र कप्तान आयुष मगरले ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । प्लेयर अफ दि म्याच बागमतीका लागि पहिलो गोल गर्ने महर्जन घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि पहिलो खेलमा बागमती युथले उद्घाटन खेलमा बिहीबार आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गरेको थियो ।

बागमती युथले अब सेमिफाइनलमा फ्रेन्डस क्लब, ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Exit mobile version