हेटौँडाः बकैया गाउँपालिकामा शनिबार निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजको आयोजनामा शिविर हुने कार्यक्रम संयोजक मोहनप्रसाद ढकालले जानकारी दिनुभयो ।

शिविर सञ्चालनमा गाउँपालिका र चितवन मेडिकल कलेजले सहयोग र सहकार्य गर्नेछ । चितवन मेडिकल कलेजको टिमले शिविरमा कान, नाक तथा घाँटी चेकजाँच गर्नेछ । यस्तै, हाडजोर्नी, बालरोग, दन्त, आन्तरिक चिकित्सा, फिजियोथेरापी, नेत्ररोग र प्रसुति तथा स्त्रीरोग सम्बन्धी सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।

बकैया–४ स्थित महेन्द्र माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि ४ बजेसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा ल्याब परीक्षण तथा औषधिहरु निःशुल्क रुपमा उपलब्ध गराइने संयोजक ढकालले बताउनुभयो ।