सामग्री वितरण पश्चात खिचिएको तस्वीर ।

हेटौँडाः राक्सिराङ गाउँपालिका–४, पनजनिस्थित राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई रोट्रयाक्ट क्लब अफ हेटौँडाले न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

रोटरी क्लब अफ हेटौँडा र नेपाल युथ फर क्लाइमेट एक्सन संस्थाको सहयोग तथा सहकार्यमा विद्यालयलाई २० बोरा न्यानो कपडाहरु उपलब्ध गराइएको हो । विभिन्न व्यक्तिहरुबाट संकलन गरिएका धोएर पुनः प्रयोग गर्न मिल्ने अवस्थामा रहेका ज्याकेट, टोपी र स्वेटरलगायतका न्यानो कपडाहरु वितरण गरिएको रोट्रयाक्ट क्लब अफ हेटौँडाकी सहसचिव अमिसा अधिकारीले जानकारी दिनुभयो ।

जाडो मौसममा विपन्न बस्तीका बालबालिकाहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले कपडा वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको उहाँले बताउनुभयो । रोट्रयाक्ट क्लबले विगत ३ वर्षदेखि रि–युज (पुनः प्रयोग) गर्न मिल्ने न्यानो कपडाहरु संकलन गरी आवश्यकता भएका स्थानहरुमा वितरण गर्दै आएको छ ।