Home मुख्य समाचार प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

कार्यशाला पश्चात खिचिएको तस्वीर ।

हेटौँडा : आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षाको नमुना प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा सोमबार र मंगलबार दुई दिन कार्यशाला भएको हो ।

मकवानपुर जिल्लाका १० वटै पालिकाले सञ्चालन गर्ने कक्षा ८ को परीक्षामा एकरुपता ल्याउने उद्देश्यले कार्यशालाबाट प्रश्नपत्र बैंक तयार पारिएको इकाई प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । छ । सिद्धार्थ मावि सभाहलमा आयोजित कार्यशालामा जिल्लाका १० वटै स्थानीय तहमा कार्यरत १७ जना शिक्षकहरुको सहभागिता थियो ।

मकवानपुरमा पठनपाठन हुने सबै विषयका विषय शिक्षकहरुको सहभागिता रहेको कार्यशालामा इकाई प्रमुख गिरी तथा शाखा अधिकृत संगीता घलेले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा निर्मित प्रश्नपत्र बैंकले कक्षा ८ को वार्षिक परीक्षामा जिल्लाका सबै पालिका तथा विद्यालयहरुमा सोही प्रश्नमध्ये छानेर प्रयोग गर्न सहज हुने र सबै तहहरूमा प्रश्नमा एकरूपता आउने इकाई प्रमुख गिरीले जानकारी दिनुभयो ।

कार्यशालाबाट हरेक विषयका तीन सेट प्रश्नपत्र उत्तरकुञ्जिका तयार पारिएका छन् । पाठ्यक्रमले तोकेको विषय क्षेत्र अन्तरगत प्रश्नहरु तयार पारिएको उहाँले जानकारी दिनुभयो । ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषणको आधारमा प्रश्नपत्रहरु निर्माण गरिएको उहाँको भनाइ छ ।

जिल्ला भरीका विद्यालयहरुमा हुने परीक्षामा एकरूपता ल्याउन कार्यशालाले सहज बनाएको प्रमुख गिरीको दाबी छ । कार्यशालामा प्रश्नपत्र तथा उत्तरकुञ्जिका निर्माण गर्ने काममा यसअघि नै प्रश्नपत्र निर्माण गरिसकेका र प्रश्नपत्र निर्माणसम्बन्धी तालिम लिएकाहरुलाई सहभागी गराइएको इकाईले जानकारी दिएको छ ।

Exit mobile version