हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण महोत्सव (५० औँ वार्षिकोत्सव) समारोह विविध कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ । विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थी, पूर्वविद्यार्थी र शिक्षकहरूलाई सहभागी गराउँदै स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ ।
कार्यक्रमको प्रारम्भ बिहीबार र शुक्रबार आँखा शिविरबाट हुनेछ भने २८ गते दन्त शिविर, माघ २ गते विद्यालय सरसफाई तथा रङरोगन कार्यक्रम हुनेछ । कार्यक्रम उद्घाटन माघ ४ गते हुनेछ । सोही दिन स्वर्ण स्तम्भको अनावरण, स्मारिका विमोचन र सम्मान कार्यक्रम हुनेछ । उद्घाटनका दिन बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहनेछ ।
यस्तै, माघ ३ गते रक्तदान तथा शैक्षिक सामग्री प्रदर्शनी, माघ ५ गते पूर्वविद्यार्थी भेला, अतिरिक्त क्रियाकलाप, माघ ६ गते नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, माघ ७ गते वृहत् सांस्कृतिक कार्यक्रम, खेलकुद र पुरस्कार वितरण गरिनेछ । महोत्सवको समापन कार्यक्रम माघ ८ गते आयोजना हुनेछ ।
