भनिन्छ,
जीवन पनि प्रकृतिको
एउटा चक्र हो
बीउ उम्रन्छ
विरुवा बन्छ
फूल फुल्छ, फल लाग्छ
र समय पुगेपछि
त्यसले मौन सङ्केत गर्छ
अब म फेरि अर्कै रूप लिनेछु ।
तर प्रश्न यहीँ अड्किन्छ
के सबै चक्रहरू
आफ्नो पूरा समय बाँच्न पाउँछन् ?
मानिसको पहिचान शब्दले होइन, व्यवहारले बोल्छ । लरक्क शरीर, अनुहारभरि फैलिएको सहज मुस्कान र बोलीमा मिसिएको आत्मीयता उहाँको उपस्थितिले वातावरण आफैँ सौम्य बन्थ्यो । मिठास उहाँको सजावट थिएन, स्वभाव थियो । सरलता कमजोरी होइन भन्ने उदाहरण जस्तै लाग्थ्यो उहाँलाई हेर्दा । जहाँ उहाँ हुनुहुन्थ्यो, त्यहाँ मानवीयता मौन रूपमा बोल्थ्यो ।
विद्यालय केवल पढाउने थलो मात्र होइन, भावना साटासाट हुने कर्मभूमि पनि हो । त्यही कर्मथलोले हामीलाई चिनायो, नजिक ल्यायो । ‘गुरुमा, मलाई अलि गाह्रो भइरहेको छ, कापी परीक्षण गर्न भ्याएको छैन । म गरिदिन्छु, तपाईं मेरो कक्षामा आएर कथा लेखन सिकाइदिनु न ।’ यो आग्रह जिम्मेवारी साट्ने प्रस्ताव मात्र थिएन, सहयोग र आत्मीयताको सुन्दर भाषा थियो ।
हामीलाई के थाहा ? त्यो संवाद नै अन्तिम हुने रहेछ भनेर । कतिपय क्षणहरू अन्तिम हुन्छन् भन्ने कुरा थाहा पाउने समय आउँदासम्म ती क्षणहरू स्मृतिमा रूपान्तरित भइसकेका हुन्छन् ।
प्रकृतिले जीवनलाई चक्रमा बाँधेको छ भनिन्छ । बीउ उम्रन्छ, बिरुवा बन्छ, फूल फुल्छ र फल लाग्छ । अनि समय पुगेपछि त्यो मौन रूपमा विदा हुन्छ । तर सबै जीवनले आफ्नो समय पूरा गर्न पाउँछ भन्ने कहाँ लेखिएको छ र ? जन्म र मृत्यु अवश्यंभावी सत्य हुन् तर समयभन्दा अगावै आउने विदाइ सधैँ प्रश्न बनेर उभिन्छ ।
उहाँसँग मेरो न रगतको नाता थियो न बाल्यकालदेखिको सङ्गत । तर केही वर्षमै गाँसिएको सम्बन्ध आत्मीय बन्दै गयो । उहाँ मनका भाव पोख्ने वक्ता बन्नुहुन्थ्यो, म ध्यानपूर्वक सुन्ने श्रोता । ती भूमिकाहरू फेरि कहिल्यै साटिने छैनन् भन्ने सत्य स्वीकार्न मन मान्दैन । त्यो मुस्कान, त्यो सौम्यता, त्यो कहिल्यै नझर्किने स्वभाव, के यी सबै स्मृतिमा मात्र सीमित भएर बस्ने हुन् अब ?
त्यसैले मन बारम्बार सोध्छ, निष्ठुरी दैव, के साँच्चै तपाईंले उहाँका पाइलामा पूर्णविराम लगाउनुभयो ? यदि वाक्य पूर्णविरामपछि पनि अर्थ बोकेर बाँच्छ भने उहाँका कर्म, व्यवहार र सम्झनाहरू किन बाँच्छन् ? उहाँ भौतिक रूपमा अनुपस्थित हुन सक्नुहुन्छ तर उहाँले छोडेर गएको प्रभाव आज पनि जीवित छ ।
अन्तिमपटक देखिएको उहाँको अनुहार मौन थियो तर शान्त । शब्दहरू रोकिएका थिए तर भावहरू सकिएका थिएनन् । आँसुहरूले पुकार गर्दा पनि उहाँ मौन रहनुभयो सायद त्यो नै अन्तिम पाठ थियो, मौनताको ।
आज उहाँ हामीसँग हुनुहुन्न तर उहाँसँग बिताएका क्षणहरू, बाँडेका शब्दहरू र सिकेका मानवीय पाठहरू कहिल्यै विदा हुँदैनन् । शरीर विदा हुन्छ, स्मृति रहिरहन्छ । यही स्मृतिले हामीलाई उहाँसँग बाँधिराख्नेछ ।
विपनीमा भेट नभए पनि,
सपनीमा भेट होस्
मन न हो
उहाँको झल्को आइरहन्छ,
र त्यो झल्को
मुस्कान बनेर
हामीलाई अझै पनि
मानवीय हुन सिकाइरहन्छ











