हेटौँडा : सशस्त्र प्रहरी बलको आयोजनामा श्रव्यदृष्य वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा प्रतियोगिता हुने भएको हो ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल, १४ नम्बर गण मकवानपुरले सूचना जारी गरी जिल्लाभरिका सामुदायिक तथा निजी विद्यालयलाई सहभागिताको लागि आह्वान गरेको छ । वक्तृत्वकला प्रतियोगिताको शीर्षक ‘देश र जनताको सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालको भूमिका’ रहेको छ । प्रतियोगितामा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।
विद्यार्थीले दिइएको विषयमा कम्तिमा २ मिनेट र बढीमा ४ मिनेटको भिडियो रेकर्ड गरी पठाउनु पर्नेछ । भिडियो रेकर्ड गर्दा वाककला अगाडिको सम्बोधन गर्न अनिवार्य छैन । भिडियो सामग्री पुस २८ गतेभित्र सशस्त्र प्रहरी बल, १४ नम्बर गणको इमेल वा ह्वाट्सएप वा पेनड्राइभमा पठाउन पाइनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले २० हजार रुपैयाँसहित प्रशंसापत्र प्राप्त गर्नेछन् । उत्कृष्ट तीनै जनालाई माघ ९ गते २५ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजना हुने प्रभातकालीन विशेष समारोहमा प्रमुख अतिथिबाट पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रथम हुने प्रतियोगीले उक्त समारोहमा आफ्नो वाककला प्रस्तुत गर्नु पर्नेछ ।











